एसएलसी परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी बिषयको परीक्षामा चिट चोर्न सघाएको आरोपमा दुई जनामाथि सार्वजनीक मुद्दा

इनरुवा  – इनरुवाबाट प्राप्त समाचार अनुसार एसएलसी परीक्षाको पहिलो दिन बिहीबार अनिवार्य अंग्रेजी बिषयको परीक्षामा चिट चोर्न सघाएको आरोपमा दुई जनामाथि सार्वजनीक मुद्दा चलाइएको छ ।

चिट चोराउनेलाई सार्वजनिक अपराधको मुद्दा चलाउने सरकारको निर्णय अनुसार सुनसरीको दुई केन्द्रवाट एक एक जनामाथि सार्वजनिक अपराधको मुद्दा चलाइएको हो । सुनसरीको भासी उच्च मावि झुम्का परीक्षा केन्द्रमा चिट ओसार पसार गरेको आरोपमा पक्राउ परेका डुम्रहा ६ निवासी १९ वर्षीय हेमनरायण चौधरी र गोपाल मावि परीक्षा केन्द्र तनमुनावाट सोही विद्यालयका कार्यालय सहयोगी तनमुनाका छेदीराम चौधरीलाई म्याद थप गरी सार्वजनिक मुद्दा चलाइएको सुनसरीका प्रहरी उपरीक्षक भुपालकुमार भण्डारीले जानकारी दिए  ।

शिक्षा नियमावली अनुसार परीक्षा मर्यादित उल्लंघन गर्नेलाई  ६ महिना कैद र एक लाख रुपैंया जरिवाना वा दुवै सजाय हुन सक्नेछ । सुनसरीमा १३ हजार परीक्षार्थी परीक्षामा सामेल छन् ।