सर्लाही – सभासद् किरणदेवी यादवविरुद्ध नक्कली परीक्षार्थीमार्फत एसएलसी परीक्षा दिएको भन्दै भर्खरै एसएलसी परीक्षा दिएका मानपुरका एक युवकले आइतबार जिल्ला प्रहरी कार्यालयमा कारबाही गर्न माग गर्दै निवेदन दिएका छन् ।
सभासदले परीक्षा आवेदन गरेकै विद्यालयबाट उही परीक्षा केन्द्रको एउटै कोठामा बसेर परीक्षा दिएका मानपुर ८ का सुनील साहले उनीविरुद्ध कारबाहीका लागि निवेदन दिएका हुन् । सभासद् यादव मानपुर ७ की हुन् ।
निवेदनमा सभासद् यादव, उनको स्थानमा परीक्षा दिने उनकै छोरी ममता, केन्द्राध्यक्ष राजकुमार ठाकुर, उनले एसएलसी दिएको विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समिति अध्यक्षसमेत ५ जनामाथि कारबाहीको माग गरिएको छ ।
निवेदक साह एउटै कोठामा बसेर परीक्षा दिएको र सभासद् यादवको छोरीले उनको नाममा परीक्षा दिएको बताउँछन् । ‘म एउटै कोठामा नजिकैको सिटमा थिएँ,’ साहले भने, ‘लगातार दुई दिन उहाँको छोरीले परीक्षा दिएको हो ।’ सभासद् जस्तो गरिमामय पदमा बस्ने व्यक्तिले गल्ती गर्दा समाजमा नकारात्मक सन्देश जाने भएकाले परीक्षा सकिने बित्तिकै त्यसविरुद्ध उजुरी गरेको साहले बताए ।
एमालेबाट समानुपातिकमा सभासद् बनेकी यादवले सुरुको दुई दिन आफ्नो सट्टा छोरीलाई परीक्षा दिन लगाएको भन्दै गुनासो आएपछि तेस्रो दिन पक्राउ गर्न खोज्दा केन्द्राध्यक्ष समेतको मिलेमतोमा भगाइएको आरोप छ । नक्कली परीक्षार्थी भगाएको भन्दै परीक्षा समन्वय समितिले केन्द्राध्यक्ष राजकुमार ठाकुरलाई सोही दिन बर्खास्त गरेको थियो ।
प्रहरी उपरीक्षक पूर्णचन्द्र जोशीले उजुरी आएको र त्यसमाथि छानबिन गरिने बताए । ‘उजुरी आएपछि प्रमाण जुटाउने प्रयासमा लाग्छौं,’ उनले भने, ‘प्रमाणका आधारमा कारबाही हुने नहुने तय हुन्छ ।’
तत्काल नक्कली परीक्षार्थी पक्राउ नपरेको र अन्य प्रमाण पनि नभएकाले कारबाही गर्न समस्या परेको परीक्षा समन्वय समितिले जनाएको छ । उनी जम्मा तीन वटा परीक्षामा सहभागी भएको र पछिल्लो एउटा परीक्षामा सभासद् आफैं आएको हुनाले उत्तर पुस्तिका परीक्षण गरे प्रमाणित हुने निवेदक पक्षको भनाइ छ ।
सभासद यादवले नक्कली परीक्षार्थीमार्फत परीक्षा दिएको खुलासा भएपछि एक दिन आफैं आएर पुनः परीक्षामा अनुपस्थित भएकी थिइन् ।