वासिङ्टन – पाकिस्तानको एबोटावादमा आफ्ना विशेष सैन्य फौजले अलकायदा नेता ओसामा बिन लादेनविरुद्ध गरेको कारबाही अमेरिकी राष्ट्रपति बाराक ओबामा र उनका सुरक्षा सल्लाहकारले वासिङ्टनस्थित ह्वाइट हाउसबाट प्रत्यक्ष हेरेको सञ्चार माध्यमहरूले मंगलबार जनाएका छन् । ‘उनीहरूले लादेनको अन्तिम क्षण फिल्मको पर्दामा जस्तै हेरेका थिए,’ सञ्चार माध्यमहरूले भनेका छन् ।
आफ्ना सैनिकहरूले बोकेको क्यामेरामार्फत ओबामाले ओसामा मारिएको दृश्यको प्रत्यक्ष प्रसारण हेरेको बेलायती पत्रिका द सनले जनाएको छ । उक्त पत्रिकाअनुसार यो नाटकीय क्षण हेर्न ओबामा ‘सिचुएसन रुम’ को स्त्रिmनतिर एकोहोरिएका थिए । त्यतिबेला सँगै रहेकी हिलारी क्लिन्टन तनावमा देखिन्थिन् । ‘दिनजस्तै मिनेटहरू बित्दै थियो,’ प्रतिआतंकवाद प्रमुख जोन ब्रेननले भने ।
उक्त कारबाहीका क्रममा ओसामाको कोड नाम जेरोनिमो राखिएको थियो । राष्ट्रपति र उनका सल्लाहकारले सीआईए निर्देशक लियोन ई पनेटलाई उनकै मुख्यालयबाट निर्देशन दिइरहेको पनि हेरेको न्युयोर्क टाइम्सले जनाएको छ । ‘उनीहरू लक्ष्यमा पुगे,’ पिनेटाले भने । केही मिनेटपछि पिनेटा फेरि बोले, ‘हामीसँग जेरोनिमोको दृश्य छ ।’ उनको आशय लादेनको हत्या हुँदैछ भन्ने थियो । नभन्दै त्यस्तै भयो । संसारकै सर्वाधिक खोजीका आतंकवादी लादेन मारिए । त्यसपछि प्रत्यक्ष प्रसारण हेर्न भेला भएका राष्ट्रपति ओबामासहितका उच्च पदाधिकारीहरू रहेको सीचुएसन रुम शान्त देखियो ।
राष्ट्रपति ओबामाले भने, ‘हामीले उसलाई कारबाही गरिछाड्यौं ।’ ओबामाले ‘जेरोनिमो’ भेटिएपछि आफूले राहत महसुस गरेको पनि बताए ।
अमेरिकी अधिकारीले ओसामा बिन मारिएको ती भिडियो र फोटाहरू सार्वजनिक गर्ने/नगर्नेबारे छलफल गरिरहेको बताएका छन् । फोटो र भिडियो सार्वजनिक गर्दा यसले कस्तो प्रतिक्रिया ल्याउँछ भन्नेबारे सोच्नुपर्ने ह्वाइट हाउसका प्रतिआतंकवाद सल्लाहकार जोन ब्रेननले बताए । लादेनको शवको तस्बिर र समुद्रमा अन्त्येष्टि गरिएको शवको भिडियो देखाउँदा इस्लामिक संवेदनालाई भड्काउने केही अधिकारीले बताएका छन् । तर उनीहरू लादेन अझै जीवित नै छन् कि भन्ने आशंकासमेत मेटाउन चाहन्छन् । त्यसैले सम्भवतः आगामी केही दिनमै लादेन मारिएको दृश्य कैद गरिएका भिडियोहरू संसारले देख्न पाउने सञ्चार माध्यमहरूले जनाएका छन् ।
प्रत्यक्ष प्रसारण हेरिरहेको कक्ष ‘सिचुएसन रुम’मा रहँदा राष्ट्रपति ओबामा आफ्ना सैनिकको सुरक्षाबारे निकै चिन्तित देखिएको ब्रेननले बताए । ‘राष्ट्रपति सफलतापूर्वक मिसन सकिएको सुनिश्चित हुन चाहेका थिए । नेभी सिल कारबाहीको ४० मिनेट अवधि ह्वाइट हाउसको उक्त कक्षमा भेला भएका अमेरिकी उच्च अधिकारीहरूका लागि पनि उत्तिकै तनावपूर्ण रह्यो जति पाकिस्तानको एबोटावादस्थित एक पत्याइनसक्नु घरमा लुकेका लादेन र उनका केही सहयोगीहरूका लागि थियो । ‘हाम्रा सैनिक बिन लादेन भएको ठाउँमै पुगेको देखेपछि भने ठूलो राहत महसुस गर्यौं,’ ब्रेननले भने, ‘त्यतिबेला चाहिँ अब हामी आफ्नो १० वर्षे अभियानको अन्त्यमा पुग्यौं जस्तो लाग्यो ।’
लादेन र अमेरिकी सैनिकहरू आमनेसामने भएपछि गोली हानाहानको दृश्य पनि प्रत्यक्ष प्रसारण भयो कि भएन र ओसामा कसरी ढले त्यो पनि ओबामाले देखे/नदेखेको बारे भने उनले खुलस्त बताएनन् । गोली चलेको आवाज सुनिएको थियो कि थिएन भन्ने प्रश्नको पनि उनले स्पष्ट जवाफ दिएनन् । नेभी सिलको एउटा हेलिकप्टरमा प्राविधिक समस्या देखिएपछिको क्षण भने निकै पीडादायी रहेको उनले बताए । ‘हेलिकप्टर नचलेपछि ‘प्लान बी’मा जानुपथ्र्यो, त्यसमा पनि हाम्रा बहादुर सैनिकहरू सफल भए,’ उनले भने । आफूहरूले पाकिस्तानी आकाशमा आफ्नो विमान र सैनिकहरू पुग्न सक्ने/नसक्ने सुनिश्चित गर्न पहिलेदेखि नै तिनका गतिविधि नियालिरहेको पनि उनले बताए ।
– एजेन्सीहरू