बिन लादेनलाई मार्दाको प्रक्रिया सार्वजनिक गर्न अमेरिकासँग माग

संयुक्त राष्ट्र संघको मानव अधिकारसम्बन्धी दुई स्वतन्त्र विज्ञहरुले अल कायदाका नेता ओसामा बिन लादेनलाई मार्दा अन्तर्राष्ट्रिय मानव अधिकारको मापदण्ड पालना गरिएको नगरिएको बारेमा निश्चित गर्न उक्त घटना प्रक्रियाको सबै जानकारी सार्वजनिक गर्न अमेरिकासँग माग गरेका छन्।

          संयुक्त राष्ट्र संघको मानव अधिकार परिषद्मा कार्यरत ती विज्ञहरुले राष्ट्र संघको जेनेभास्थित कार्यालयबाट हिजो मे ६ तारिखका दिन एक वक्तव्य प्रकाशित गरी उक्त माग गरेका हुन् । वक्तव्यमा आतंककारीलगायतका अपराधीहरुमाथि कार्वाही गर्दा अवलम्बन गर्नुपर्न मानवअधिकारको अन्तर्राष्ट्रिय मापदण्डअनुसार पक्राउ गर्ने, अदालतमा उपस्थित गराउनुपर्ने र सजायँ दिनुपर्ने जस्ता कदमहरु क्रमशः चाल्नुपर्ने कुरा उल्लेख छ।

         आतंककारीहरुलाई निमयन्त्रणमा लिने क्रममा अपवादमा बाहेक कुनै पनि मानिसको जीवन संरक्षण गर्नुपर्ने तथा अन्तिम विकल्पको रुपमा मात्र मार्न सकिने उनीहरुले उल्लेख गरेका छन् ।