अल कायदाका नेता ओसामा बिन लादेन मारिएको घर परिसरबाट कब्जा लिएका ५ वटा भिडियो पेन्टागनद्वारा सार्वजनिक
बैशाख २५ गते, २०६८ मा प्रकाशित
अल कायदाका नेता ओसामा बिन लादेन रहेको घरको परिसरबाट कब्जा लिएका ५ वटा भिडियो अमेरिकन रक्षा मन्त्रालय पेन्टागनले सार्वजनिक गरेको छ। उक्त भिडियोमा आफ्नै टिभीमा आएका समाचारहरु हेर्दै एवम च्यानलहरु घुमाइरहेका देखिन्छ ।
यस अघि अमेरिकी राष्ट्रपति बाराक ओबामाले पाच दिन अघि पाकिस्तानमा भएको लादेन विरुद्धको कारबाही अभियानमा सहभागी अमेरिकी विशेष सेनाको टोलीसँग भेटघाट गरेका छन्। राष्ट्रपति ओबामाले लादेन विरुद्धको अभियान इतिहास कै सवैभन्दा ठुलो सैन्य अभियान मध्ये एक भएको भन्दै लादेन कारबाही अभियानमा सहभागि सैनिकको प्रशंसा गरेका छन्।
लादेन कारबाही अभियानमा सहभागि सेनाको सम्मानमा केन्चुकीको फोर्ट क्याम्पबेल सैनिक अखडामा आयोजित विशेष समारोहमा ओबामाले विन लादेन नेतृत्वको आतंकवादी संगठन अलकायदाको सञ्जाललाइ परास्त गर्ने प्रतिबद्धता पनि ब्यक्त गरेका छन्।
त्यसैगरी अन्तर्राष्ट्रिय आतंकबादी संगठन अलकायदाले अनलाइन मार्फत आफ्ना प्रमुख ओसामा विन लादेन मारिएको पुष्टी गर्दै लादेनको रगत खेर जान नदिने चेतावनी दिएको छ। यसैबीच विन लादेन मारिएको घरमा फेला पारिएको दस्तावेजमा अल कायदाले सेप्टेम्बर एघार जस्तै अर्को आक्रमण गर्ने योजना बनाएको खुलासा भएको छ।