काभ्रे र बारामा परेको चट्याङ लागेर तीन जनाको मृत्यु

काभ्रे/बारा – काभ्रे र बारामा शनिबार परेको चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।

काभ्रेको डाँडापारि क्षेत्रस्थित फलामेटार गाविस- ४ उत्तरेडाँडामा शनिबार साँझ परेको चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ । चट्याङ लागेर ६ जना घाइते भएका छन् ।

स्थानीय जितबहादुर थिङका अनुसार चट्याङ लागेर फलामेटार गाविस- ४ का ५० वर्षीया माइलीमाया थिङ, ३५ वर्षीया सुनमाया गोले र ३५ वर्षकै फूलमाया गोलेको मृत्यु भएको छ । विकट क्षेत्र भएकाले घाइते ६ जनालाई उपचारका लागि अस्पताल लैजान समस्या भएको छ ।

बारा संवाददाता पवन यादवका अनुसार भलुही भरवलिया गाविस- १ मा शनिबार दिउँसो गएको चट्याङमा पाँच जना घाइते भएका छन् ।

भलुही भरवलियासँगै रहेको क्रिकेट मैदानमा क्रिकेट खेलिरहेकाबेला परेको चट्याङमा १६ वर्षीय राजाबाबु पटेल, १८ वर्षीय अशिष पटेल, १६ वर्षीय सन्जय पटेल, १८ वर्षीय अमित पटेल र वडा नम्वर २ का १४ वर्षीय सुमन पटेल घाइते भएका छन् ।

घाइते मध्ये राजाबाबुको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । घाइते सवैको बीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।