अंग्रेजीमा एउटा भनाइ प्रचलित छ। लास्ट वट नट द लिस्ट’ अर्थात् जो अन्तिम हुन्छ त्यो सबैभन्दा कम महत्त्वको होइन। यसको अर्थ पनि उत्तिकै मूल्यवान् र महत्त्वपूर्ण छ, अर्थविहीन होइन। हामीमध्ये धेरैले अन्तिम हुनुलाई अन्त्यका रूपमा लिएका हुन्छौं। शब्द उस्तै लागे पनि र समान देखिए पनि अन्तिम हुनु तथा अन्त्य हुनुको अर्थबीच आकाश-जमिनको फरक छ।
शब्दबीच भेद वा अन्तरलाई नबुझ्दा मानिसहरू आफ्नो स्वर तथा क्रियाकलापबीच पनि अन्तर पैदा गर्न सक्दैनन्। अन्तिम हुनु के कुराको प्रमाण हो भने त्यो स्थिति स्थायी छैन। किनभने त्यो स्थिति कुनै क्रम भएर गुजि्रएको हुन्छ र जुन आज अन्तिम छ भोलि त्यही नै प्रथम बन्न सक्छ। अन्तिम हुनुले के बताउँछ भने अझै पनि परिवर्तनको सम्भावना बाँकी छ। जुन कारणबाट अन्तिमको स्थितिमा पुगिन्छ, ती कारणलाई मनन गरेर भोलि हुने र घट्न सक्ने परिणामलाई परिवर्तन गर्न सकिन्छ वा त्यो परिणाम आउन नदिने प्रयास गर्न सकिन्छ।
अन्तिम परिस्थिति निराशा होइन, राम्रो भविष्य र अवसरतर्फको पहिलो बिन्दु हो। यदि अन्तिमको स्थिति हुँदैन भने प्रथमको स्थितिको पनि सम्भावना हुँदैन। जीवन सिँढीजस्तै हो र जीवनरूपी उतारचढावको प्रतीक पनि। चढ्दा जुन सिँढी प्रथम हुन्छ, उत्रँदा त्यही सिँढी अन्तिम बन्न पुग्छ। ती दुवै समयमा सिँढीको आ-आफ्नै महत्त्व छ। यात्राका क्रममा दुवैको उत्तिकै योगदान पनि छ। चढ्दा यदि अन्तिम सिँढी नै नआउने हो भने कहिल्यै लक्ष्य प्राप्त हुँदैन र अन्तिम सिँढी र्फकन र यात्रा पूरा गर्न उत्तिकै आवश्यक छ। जुन कुरालाई हामी अन्तिम भन्छौं वा मान्छौं त्यो कुरा आदि वा प्रारम्भ पनि हुन सक्छ वा साँच्चै अन्त्य पनि। हरेक रेखाका दुई किनारा अर्थात् बिन्दु हुन्छन्, तब मात्र त्यो रेखा बन्न पुग्छ। जब यी दुई बिन्दुको मेल हुन्छ तब रेखा बन्न पुग्छ। रेखा प्रतीक हो पूर्णताको, शून्यताको, गर्भको, पृथ्वी र आत्मरूपी बिन्दुको। यो आकार र अवस्था बिनारेखा सम्भव छैन र रेखा हुनका लागि अन्तिम वा अर्कातर्फको बिन्दुलाई छुनु आवश्यक छ।
अन्तिम हुनु नै प्रारम्भको सूचक हो। त्यसैले जीवनमा अन्तिमको अवस्थालाई नकारात्मक दृष्टिबाट नहेरौं। अन्तिम हुनु भोलिको सुअवसर हो, मार्गदर्शक हो-सजगता, सचेतता, पूर्ण आत्मबल तथा आत्मविश्वासका साथ अघि बढ्ने।