‘सुपरिवेक्षक प्रत्येक घरमा पुगेर घरमूलीसहित पुरुष, महिला र तेस्रो लिङ्गी भए त्यसको समेत तथ्याङ्क संकलन गर्नेछ’, केन्द्रीय तथ्याङ्क विभागका निर्देश डा.रुद्र सुवालले भने, ‘अठार दिनभित्र प्रारम्भिक चरणको सुचिकरण लिइसक्ने छन् । त्यसैको आधारमा अन्तिम चरणको जनगणना हुनेछ ।’ जनगणनाका निम्ति ५० वटा प्रश्न तयार गरिएको छ ।
एघारौं राष्ट्रिय जनगणनाका निम्ति ‘कोही नछुटौं, कोही नदोहोरियौं, अक्सर बसोवास गरेकै स्थानबाट आफ्नो विवरण लेखाऔं’ नारा रहेको छ । विभागको आंकडाअनुसार देशभरि ३३ लाख ६४ हजार १ सय ३९ घर संख्या छन् । तीमध्ये २६ हजार ७ सय जग्गा नभएकाहरुको घर पर्दछ ।
हरेक व्यक्तिको नाम, थर, जात/जाति, लिङ्ग, उमेर, शिक्ष्ाा, पेशा लगायतको विवरण छ महिनाभन्दा बढी समय बसोबास गर्ने स्थानबाट लिइने छ । विदेशमा रहेका परिवारको सदस्यको पूर्ण विवरण, जानुको कारण, गएको देशसमेत उल्लेख गरिनेछ । त्यसैगरी घरको बनोट, पक्की/कच्ची, क्षेत्रफल, छानोको किसिम, घरपालुवा पशु र पंक्षीसमेत उल्लेख गरिने छ ।
नेपालमा पहिलो पटक १९६८ मा जनगणना सुरु भएको थियो । त्यसयता हरेक दस वर्षमा जनगणना लिइदै आएको छ । यस पटक २ करोड ८० लाख ४३ हजारभन्दा बढी जनसंख्या हुने अनुमान गरिएको छ । त्यसमध्ये महिलाको जनसंख्या पुरुषको भन्दा करिब ९० हजारले कम हुनेछ । जनसंख्या बृद्धि दर २ दशमल २५ रहेको छ ।
यस पटक कुल गार्हस्थय उत्पादन दर (जीडीपी) बढाउनका निम्ति महिलाले गर्दै आएका ‘घरधन्दा’ कामसमेत तथ्याङ्कमा उल्लेख गरिने भएको छ । अहिलेसम्म महिलाले गर्दै आएको ‘घरधन्दा’ कामको मूल्याङ्कन हुनसकेको थिएन ।
‘अहिलेसम्म घरधन्दालाई आर्थिक कामका रुपमा मूल्याङ्कन भएको थिएन’, सुवालले भने, ‘अब विस्तारित आर्थिक कामका रुपमा उल्लेख गरिनेछ ।’ घरपरिवारको लुगाधुने, बालबच्चा हेर्ने, बृद्धबृद्धा स्याहार्ने, घाूस, दाउरा, बस्तुभाउ स्याहार्ने, स्वीटर, डोको, नाम्लो बुन्ने जस्ता काम घरधन्दामा राखिएको छ । घरधन्दाको विविधतालाई केलाएर जनगणना लगतमा उल्लेख गरिनेछ । यसबाट महिलाको योगदान, सक्रियता देखिने र आर्थिक उन्नतिमा जोडिनेछ ।
सरकारले महिलाको नाममा घर, जग्गा पास गर्नका निम्ति सहुलियतसमेत दिएकाले अचल सम्पत्तिमा महिलाको स्वामित्वको आंकडा बढ्ने अनुमान गरिएको छ । ‘अब महिलाको नाममा रहेको घर, जग्गाको मात्र होइन, कामकै मूल्याङ्कन हुदैछ’, इलाका सुपरिवेक्षक यमुनाकुमारी श्रेष्ठले भनिन्, ‘हामी प्रत्येक गृहिणी दिदीबहिनीहरूलाई आफ्नो कामको विवरण दिलाउने प्रयास गर्नेछौं ।’ उनले पुरुष प्रधान समाजको परिभाषा फेरिनेसमेत दावी गरिन् ।