सात महिनाकी गर्भवती श्रीमतीलाई बन्चरो हानी घाइते

सुर्खेत   – सुर्खेत गुठु-४, भापरका एक व्यक्तिले सात महिनाकी गर्भवती श्रीमतीलाई बन्चरो हानी घाइते बनाएका छन्। शुक्रबार राति बन्चरो हानिएकी हस्ता थापाको अहिले वीरेन्द्रनगरस्थित मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ।
हस्ताकी आमा अमृता माझीले दिएको जानकारीअनुसार पति केशरले राति नौ बजे सुतिरहेको बेला एक्कासी बन्चरोले टाउको, चिउँडो र गर्धनमा हानेका थिए।

‘पहिले पनि अनेक निहुँ झिकेर झगडा गरिरहन्थे,’ अमृताले भनिन्, ‘यसपटक त ज्यानै लिने गरी छोरीलाई बन्चरोले हाने।’ गाउँमा सामान्य उपचारपछि हस्तालाई शनिबार राति वीरेन्द्रनगर ल्याइएको र हालसम्म पनि होस नखुलेको उनले बताइन्।

स्थायी बसोबास विद्यापुर-३ तिनकुने भए पनि हस्ताको परिवार माइतीमा बस्दै आएको थियो। घरमा खानलाउनसमेत नपुग्ने भएपछि घरजग्गा दिएर राखेका ज्वाइँले छोरीलाई मार्न खोज्दा निकै दुःख लागेको अमृताले बताइन्। ‘छोरीज्वाइँकै राम्रो होस् भनेर आफूसँग भएको घरखेत दियौँ, तर अहिले त्यही ज्वाइँले छोरीलाई मार्न खोजे,’ उनले भनिन्। हस्ताका तीन छोराछोरी छन्।

केशरलाई शनिबार दिउँसो प्रहरीले समाती अनुसन्धान थालेको छ। यसअघि २०६३ भदौमा गाउँकी एक महिलालाई बलात्कार गरेको अभियोगमा एक वर्षसम्म जेल परेका उनी मिलापत्रपछि मुक्त भएका थिए। हस्ताका मामा गजराज बयकले केशर आपराधिक मानसिकताको मान्छे भएकोले पछिल्लो घटना घटेको र उनलाई कडा कारबाही हुनुपर्ने माग गरे।

प्रहरीले रगत दिए

घाइते भई अस्पताल भर्ना भएकी हस्तालाई प्रहरी जवान पतिराम चौधरीले एक पिन्ट रगत दिएका छन्। इलाका प्रहरी कार्यालय छिन्चुमा कार्यरत जवान चौधरीले रगतको खोजी भएको थाहा पाएपछि अस्पतालमै पुगी रगत दिएको बताए। ‘यस्तो अवस्थाकी महिलालाई मानवीय सेवा गर्नु सबैको कर्तव्य हो,’ उनले भने।

 

-नागरिक