पाकिस्तानको प्रहरीले जनाएअनुसार, उत्तर-पश्चिमी पाकिस्तानको नोवशरा शहरमा हिजो राति एउटा आत्मघाती बम बिस्फोट गराइएको छ। जसमा कम्तिमा अठार जना मृत्यु हुनुका साथै तीस जनाभन्दा बढी घाइते भएका छन्।
सो घटना नोवशराको एउटा सैनिक क्षेत्रमा पर्ने एउटा पसलमा भएको हो। प्रहरीको ठहरअनुसार, सैनिकलाई लक्षित गरी सो बिस्फोट गरेको हो। एक उच्चस्तरीय सैनिक पदाधिकारीको श्रीमती र दुइ छोराछोरीको मृत्यु भएको छ।
यसबाहेक हिजै विहान नोवशरा नजिकको शहर पेशावमा पनि एउटा बम बिस्फोट गराइएको छ। यसमा कम्तिमा एक महिला तथा एक बालकलगायत छ जनाको मृत्यु हुनुका साथै अरु दश जना घाइते भएका छन्।
हाल कुनै पनि संगठनले यी घटनाको जिम्मा लिएको छैन।