– एजेन्सी
राष्ट्रसंघ – १५ सदस्यीय सुरक्षा परिषद्ले राष्ट्रसंघीय महासचिव वान कि
मुनलाई पाँचवर्षे दोस्रो कार्यकालका लागि सिफारिस गरेको छ ।
मंगलबार हुन लागेको १ सय ९२ सदस्य मुलुकको राष्ट्रसंघ महासभा बैठकले उनलाई
पुनर्निर्वाचित गर्ने प्रायः निश्चित छ । महासचिवका लागि अन्य प्रतिस्पर्धी देखा
परेका छैनन् । परिषद् बैठकले मतदानबिनै उनलाई सिफारिस गर्ने निर्णय गरेको हो ।
राष्ट्रसंघ क्षेत्रीय समूहहरूमध्येको एक ल्याटिन अमेरिका र क्यारिबियनले वानलाई
स्वीकार्न सहमत नभएपछि उक्त बैठक एक दिन सारिएको थियो । वानका लागि ती मुलुकले
सहमति जनाइहालेका छैनन् । प्राविधिक रूपमा क्षेत्रीय समूहको सहमति आवश्यक नपरेकोले
परिषदले निर्णय गरेको हो ।
६७ वर्षीय वान दक्षिण कोरियाका पूर्व अर्थमन्त्री हुन् । वानले भिटो प्रयोग गर्न
सक्ने सुरक्षा परिषद् सदस्यहरू अमेरिका, बेलायत, फ्रान्स, रुस र चीनको समर्थन
पाइसकेका छैन ।
सिफारिस निर्णयका बेला ब्राजिलको ब्रासिलियामा रहेका वानले वक्तव्य जारी गर्दै
भनेका छन्, ‘महासचिवको रूपमा यो ठूलो संगठनको सेवा गर्न पाउनु महान् अवसर हो, यो
विश्वास र समर्थनका लागि आभार व्यक्त गर्न चाहन्छु ।’ अझै कठिन चुनौतीप्रति सचेत
रहेको पनि उनको भनाइ थियो ।
राष्ट्रसंघको अलिखित नियमअनुसार महासचिव विभिन्न क्षेत्रीय समूहका मुलुकबाट
पालैपालो हुनुपर्छ । सुरक्षा परिषद्को स्थायी सदस्यका नागरिक हुनु हुँदैन ।
मुख्य शक्तिहरूप्रति निकै खुसामत गर्ने, मानवअधिकार दुरुपयोग रोक्न नसकेको भन्दै
सफल नभएको भन्दै वान आलोचित छन् । तर जलवायु परिवर्तन, आणविक निःशस्त्रीकरण र
महिलाको मुद्दामा उनको प्रतिबद्धताले लोकप्रिय छन् ।
वानले मध्यपूर्व र उत्तर अफ्रिकामा चलेको प्रजातिन्त्रक आन्दोलनमा प्रोत्साहन
गरेका थिए । उनीमाथि अंग्रेजी भाषामा पूर्ण नभएको आरोपसमेत लाग्ने गरेको छ ।