भक्तपुर – २०६७ सालको एसएलसीमा ५५ दशमलव ५ प्रतिशत विद्यार्थी उत्तीर्ण
भएका छन् । नियमित तर्फको यो नतिजा गत वर्ष भन्दा ९ प्रतिशतले घटेको छ ।
आंशिक तर्फ १७ दशमलव ३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । केन्द्रीय
परीक्षा समितिको सोमबारको वैठकले नतिजा सार्वजानिक गरेको हो ।
परीक्षा नियन्त्रक सूर्यप्रसाद गौतमका अनुसार कुल ४ लाख ५४ हजार २२ जना
परीक्षार्थीमध्ये २ लाख ३० हजार ४ सय ९९ सय जना उत्तीर्ण भएका छन् । नतिजा अनुसार
२० हजार १ सय ११ जनाको विशिष्ट श्रेणी (डिस्टिङ्सन) र ८२ हजार ६ सय १९को प्रथम
श्रेणी छ । सबैभन्दा बढी १ लाख ९ हजार ७ सय ९५ जना दोस्रो श्रेणीमा उत्तीर्ण भएका
छन् । तेस्रो श्रेणीमा उत्तीर्ण हुनेको संख्या ८ हजार २ सय ४१ छ ।
‘झण्डै ४४ प्रतिशत विद्यार्थी एसएलसीमै फेल हुनु शैक्षिक क्षति हो’, गत सालभन्दा
कम विद्यार्थी उत्तीर्ण हुनुको कारणबारे नियन्त्रक गौतमले नतिजा सार्वजानिकपछि भने,
‘हरेक साल फरक सिकाइ क्षमता भएका विद्यार्थी अध्ययन गर्छन्, त्यसकारण नतिजा तलमाथि
परिरहन्छ । यसले विद्यार्थीको क्षमता अनुसार विद्यालयको पठन पाठन प्रभावकारी छैन
भन्ने देखाउँछ । शैक्षिक सत्रको सुरुदेखिनै प्रभावकारी शिक्षण चलाउन ध्यान दिनु
पर्छ ।’
१ लाख ४४ हजार विद्यार्थी २ विषयमा अनुतीर्ण भएका छन् । ५ नम्बर ग्रेस दिदा १७
हजार ७ सय ४० जना उत्तीर्ण भएको गौतमले बताए । उनले यसपालीको परीक्षा सुरुदेखिनै
विगत वर्षमा भन्दा मर्यादित भएको तथा नतिजा प्रकाशनमा पनि मिसिङ कम भएको बताए ।
परीक्षा गत चैत १० देखि १८ गतेसम्म चलेको थियो । प्ररम्भीक अनुमान अनुसार सामुदायिक
विद्यालयको नतिजा कमजोर भएको छ । यसको विश्लेषण भने भइसकेको छैन । पछिल्लो ५ वर्षमा
यो सबैभन्दा कमजोर नतिजा हो ।
शिक्षा सचिव शंकर पाण्डेले अध्ययनपछिमात्रै विद्यार्थीको नतिजा विश्लेषण गर्न
सकिने बताए । ‘अहिलेनै यसको कारण बताउन सकिन्न’, उनले कान्तिपुरसित भने, ‘यसैमा
निरास हुनु पर्दैन । पढ्ने सबै पास हुनु पर्छ भन्ने आधारभूत कुरा हो, तर त्यसमा
सुधारका ठाउ धेरै छन् । सरकार सुधारका पक्षमा छ ।’ नतिजा २०६२ पछि बढ्दै गएको थियो
। पछिल्लो ५ वर्षमा यो सबैभन्दा कम हो । शिक्षाविद् डा विष्णु कार्कीले यसले
शिक्षक, परीक्षा तथा पठन पाठनमै प्रश्न खडा गरेकेा टिप्पणी गरे । उनले भने, ‘४४
प्रतिशत विद्यार्थी फेल हुनुमा कहा कमजोरी भयो, शिक्षकले पनि सोच्नु जरुरी छ ।’
कार्यालयले परीक्षाफल दि हिमालयन टाइम्स दैनिकमा प्रकाशन गरेको छ भने नेपाल टेलिकमको १६०० र युटिएलको १२१५ मा डायल गरी प्राप्त निर्देशनमा नतिजा प्राप्त गर्नसक्ने व्यवस्था गरेको छ । त्यस्तै एसएमएसतर्फ नेपाल टेलिकमको १४००, एपिसीए नेपालको २७२२, इएस्य सर्भिसको ४९४९, जानकी टेक्नोलोजीको ५००१, टेलिटेकको ५२२५, फोकसवानको ५५६६, मेराइकल इन्फोकमको ७३७३ र कात्पिुर पब्लिकेसनको ८०८० मा एसएमएस गरी प्राप्त गर्न सकिने छ भने वेभसाइटतर्फ www.slcresult.soce.gov.np, www.slc.ntc.net.np, www. moe.gov.np / www.doe.gov.np मा हेर्न सकन्छि ।
परीक्षाको लब्धाङ्कपत्र दस दिनभित्र परीक्षा नियन्त्रण कार्यालयबाट सम्बन्धित विद्यालयमा पठाइने छ ।
पुरक साउनदेखि
यसैबीच परीक्षा नियन्त्रण कार्यालयले दुई विषय अनुत्तीर्ण विद्यार्थीका लागि
साउन २३ देखि ३० गतेसम्म पुरक परीक्षाको व्यवस्था गरिएको परीक्षा नियन्त्रण
कार्यालयल जनाएको छ ।
काठमाडौं – विद्यालय तहको अन्तिम परीक्षा एसएलसी दुई वर्षपछि १२ कक्षामा
लिइने भएको छ ।
अन्तर्राष्ट्रिय मापदण्डअनुसार कक्षा १२ सम्म विद्यालय तह नै हुने भएकाले नेपाल
सरकारले यस्तो व्यवस्था लागू गर्न लागेको हो । गत वर्षदेखि कार्यान्वयनमा आएको
विद्यालय क्षेत्र सुधार कार्यक्रमले १-१२ कक्षासम्मलाई विद्यालय तह मानेको छ ।
यसैअनुसार सन् २०१२ बाट कक्षा १२ मा एसएलसी लिन लागिएको हो । त्यसपछि कक्षा १० को
परीक्षा क्षेत्रीय तहमा सीमित हुनेछ । १९९० सालमा सुरु भएयता हरेक वर्ष कक्षा १० मा
एसएलसी परीक्षा लिइँदै आएको छ ।
अन्तर्राष्ट्रिय शैक्षिक मापदण्डअनुकूल बनाउन कक्षा १२ मा एसएलसी लिन लागिएको
जनाउँदै शिक्षाविद् डा. कमलकृष्ण जोशीले अब नयाँ संरचनाअनुसार राष्ट्रिय परीक्षा
बोर्ड बन्न जरुरी रहेको बताए । नयाँ संरचनाका निम्ति अहिलेको परीक्षा नियन्त्रण
कार्यालय, उच्च माध्यमिक शिक्षा परिषद् र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम
परिषद्लाई समाहित गरी राष्ट्रिय परीक्षा बोर्ड गठन गर्ने तयारी छ । सन् २०१५ देखि
कक्षा १२ मा राष्ट्रिय, १० मा क्षेत्रीय र ८ मा जिल्लास्तरीय परीक्षा हुनेछ ।
नयाँ संरचना नियमनका निम्ति शिक्षा ऐन संशोधन संसद्मा विचाराधीन छ । ‘शिक्षा
ऐनमा विद्यालय संरचना र राष्ट्रिय परीक्षा बोर्डको प्रस्ताव गरिएको छ,’ ऐन संसद्मा
रहेको उल्लेख गर्दै शिक्षा मन्त्रालयका सहप्रवक्ता डा. लेखनाथ पौडेलले भने, ‘ऐन
आएपछि बाटो खुल्नेछ ।’