शिक्षामन्त्रीव्दारा शिक्षा क्षेत्रमा सुधार र परिवर्तनका लागि सर्वपक्षीय सम्मेलन आव्ह्रानको घोषणा

काठमाडौ  – शिक्षामन्त्री गंगालाल तुलाधारले शिक्षा क्षेत्रमा सुधार र
परिवर्तनका लागि सर्वपक्षीय सम्मेलन आव्ह्रानको घोषणा गरेका छन् । मंगलबार
रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा मन्त्री तुलाधरले
त्यस्तो घोषणा गरेका हुन् ।

उनले सो सर्वपक्षीय सम्मेलनमा राज्यको शिक्षानीति, परीक्षा नीतिमा रहेको कमजोरी
र सुधारका उपाय, अध्यापन, अनुगमन, दण्ड पुरस्कारको विषय सहित सबै विषयमा छलफल हुने
बताए ।

मन्त्री तुलाधरले एसएलसीको परीक्षाफल अघिल्लो वर्षको तुलनामा घटनुको दोषी,
अभिभावक, विद्यार्थी, शिक्षक, सरकार सबै रहेको भन्दै कसैले कसैलाई दोष थोपरेर
उन्मुक्ति पाउन नसक्ने धारणा राखे । उनले भने, ‘जिम्मेवारी लिने पद्धतिको विकास
गर्नु पर्छ । त्यसमा आफ्नो हिस्साको जिम्मेवारी लिन म पनि तयार छु । तर,
जिम्मेवारीको पद्धति नै नभएकोले म मात्र दोषी छैन ।’ उनले शिक्षा क्षेत्रको सुधारका
लागि दण्ड र पुरस्कारको व्यवस्था अपरिहार्य भएको भन्दै त्यस्तो व्वस्था नहुँदा
शिक्षा क्षेत्रमा जिम्मेवारीपनाको विकास हुन नसकेको बताए ।

यसवर्षको एसएलसीको नतिजा घटनुमा परिक्षा प्रणालीमा भएको कडाई पनि कारण भएको दावी
गर्दै मन्त्री तुलाधरले अभिभावक, शिक्षक र विद्यार्थीको भूमिका राम्रो हुन नसक्दा
पनि नतिजा घट्दो अवस्थामा आएको ठोकुवा गरे ।

एसएलसीलाई भन्दा अब उच्च शिक्षालाई केन्द्रीत गरेर काम गर्नु पर्ने उनको सुझाव
थियो । यस्तै प्याब्सनका अध्यक्ष राजेश खड्काले राजनीतिक क्षेत्र बिग्रीएकाले
समग्र शिक्षा क्षेत्रमा असर पुगेको दावी गर्दै राजनीति सस्तो व्यापार बन्न नहुने
तर्क गरे ।