जन्ती बोकेको डुङ्गा सुनकोसी नदीमा दुर्घटना हुँदा दुलहा-दुलहीसहित तीनजना बेपत्ता

दोलखा – ओखलढुङ्गाको बलखु गाविसस्थित सुनकोसी नदीमा आज जन्ती बोकेको डुङ्गा दुर्घटना हुँदा दुलहा-दुलहीसहित तीनजना बेपत्ता भएका छन्। एकजनाको घाइते अवस्थामा उद्धार गरिएको छ। क्षमताभन्दा बढी यात्रु लिएर नदी तर्दै गरेको अवस्थामा सो डुङ्गा दुर्घटना भएको हो। बेपत्ता भएकाहरुको नाम खुल्न सकेको छैन।

अन्य पाँचजना यात्रु पौडेर बाँच्न सफल भएको स्थानीयवासीले जानकारी दिएका छन्।

बेहुलीको माइतीघर ओखलढुङ्गाको बलखु र दुलाहाको ठेगाना उदयपुरको घुर्मी रहेको बताइएको छ।

हराइरहेकाहरुको खोजी कार्यका लागि प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ। प्रहरीका अनुसार डुङ्गामा ५० जनाभन्दा बढी यात्रु सवार रहेका थिए।

लगातारको वर्षातका कारण केही दिनदेखि सुनकोसीलगायत अन्य नदीहरुमा पनि पानीको बहाव बढेको छ। रासस