अन्तर्राष्ट्रिय फौजदारी अदालतले लिबियाली नेता कर्णेल मोहम्मद गद्दाफीविरुद्ध पक्राउ पूर्जी जारी

द हेग  – अन्तर्राष्ट्रिय फौजदारी अदालतले लिबियाली नेता कर्णेल मोहम्मद गद्दाफीविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ। अदालतले मानवताविरुद्धको अपराधमा उनको संलग्नत रहेको तथा मध्य फेब्रुअरीमा गद्दाफीको शासनविरुद्ध सुरु भएको विद्रोहमा संलग्न गैरसैनिक व्यक्तिमाथि आक्रमणको आदेश दिएको आरोप लगाएको छ।
हेगमा मुख्यालय रहेको सो अदालतले कर्णेल गद्दाफीका छोरा सेफ अल इस्लाम र गुप्तचार सेवाका प्रमुख अब्दुल्लाह अल सानुस्सीविरुद्ध पनि पक्राउ पूर्जी जारी गरेको छ।
लिबियामा फेब्रुअरीमा सुरु भएको द्वन्द्वको क्रममा हजारौ जनता मारिएको अनुमान गरिएको छ। अदालतका न्यायाधीस सन्जी मोनागेङले कर्णेल गद्दाफी र उनका छोरा लिबियाको नागरिकको हत्या गर्ने र धम्क्याउने कार्यक्रममा संलग्न रहेको विश्वासनीय आधार भेटिएको बताएका छन्।

अदालतका प्रमुख अभियोजनकर्ता लुइस मोरेनो ओकाम्पोले मेमा गैरसैनिक नागरिकविरुद्ध व्यापाक र योजनाबद्ध आक्रमण भएको भन्दै तीन व्यक्तिविरुद्ध पक्राउ पूर्जी जारी गर्न माग गरेका थिए। मोरेनो ओकाम्पोले कर्णेल गद्दाफीले ‘आफैंले गैरसैनिक लिबियालीको हत्या गर्ने र पक्राउ परेका राजनीतिक प्रतिद्वन्द्वीलाई यातना दिन आदेश दिएको’ बताएका छन्।

सत्तामा रहँदै मानवताविरोधी अपराधमा फौजदारी अदालतले पक्राउ पूर्जी जारी गरिएका कर्णेल गद्दाफी दोस्रा नेता हुन्। यसअघि सुडानका राष्ट्रपति ओमार अल बसिरविरुद्ध सो अदालतले पक्राउ पूर्जी जारी गरेको थियो। लिबियाली अधिकारीहरुले भने यसअघि नै सो अदालतको कुनै पनि कुरालाई मान्यता नदिने बताइसकेका थिए। उनीहरुले पक्राउ पूर्जीको धम्कीले विचलित नबनाउने बताएका थिए।

सरकारका प्रवक्ता मुसा इब्राहिमले अफ्रिकी नेताहरुको पछि अदालत निकै लागेको आइतबार बताएका थिए। उनले त्यस अदालदले जेसुकै फैसला गरे पनि त्यो वैधानिक नहुने बताएका थिए। बेलायतका विदेश मन्त्री विलियम हेगले अदालती फैसलाको स्वागत गरेका छन्। उनले ‘गद्दाफीले किन शासन गर्ने वैधानिकता गुमाए र किन उनले तत्कालै सत्ता छाड्नुपर्छ’ भनेर देखाएको बताए। उनले ‘नरसंहार’ मा संलग्न सबैलाई कानुनको कठघरामा उभ्याइने पनि बताएका छन्।

-एजेन्सी