महेश्वर चामलिङ राई
उदयपुर – नेपाल खाद्य संस्थान ओखलढुंगाकी एक महिला कर्मचारीले कार्यालयभित्रै यौन शोषणको पीडा भोग्नुपरेको छ। उनले लेखापाल शम्भुप्रसाद रेग्मीद्वारा पटकपटक बलात्कार प्रयास गरेको उजुरी प्रमुख जिल्ला अधिकारीलाई दिएकी छन्।
दुई छोराछोरीकी आमा ती महिलाले गत आइतबार न्यायका लागि प्रजिअ सागरमणि पराजुृलीसमक्ष मौखिक उजुरी दिएकी थिइन्। रेग्मीले भनेको नमाने ‘जागीरबाट निकालिदिने’ धम्की दिँदै कार्यकक्षमै बोलाएर जबर्जस्ती गर्न खोजेको पीडितको भनाइ छ।
रेग्मीले भने फाइल केरमेट भएको विषयमा भएको सामान्य विवादलाई बलात्कार गर्न खोजेको भनेर हल्ला गरिएको दाबी गरे। घटनालगत्तै प्रजिअको सिफारिसमा रेग्मीको काठमाडौंस्थित संस्थानको प्रधान कार्यालयमा सरुवा भएको कार्यालय प्रमुख रामकृष्ण पन्तले बताए। पीडित सात महिनाअघि मात्र दैनिक ज्यालादारीमा नियुक्त कर्मचारी हुन्।
प्रजिअ पराजुलीले मौखिक उजुरी दिए पनि लिखित निवेदन नपरेको बताए। दोषी ठहरिए रेग्मीमाथि कानुनी कारबाही गर्ने तर लिखित निवेदनपछि मात्र प्रक्रिया अघि बढ्ने उनले जानकारी दिए।