बाँके । नेपालगञ्जमा आज भैंसी आन्दोलन गरिएको छ । नेपाल पिछडा वर्ग महासङ्घ बाँके सम्बद्ध केही पदाधिकारीले जिविस बाँकेलाई रकम निकासाका लागि दबाब दिन सो आन्दोलन गरेका हुन् ।
नेपाल पिछडा वर्ग महासङ्घ कौसलकुमार समूहका बाँके अध्यक्ष बताउने मनोजकुमार बर्माको अगुवाइमा छवटा भैंसी ल्याएर जिविस कार्यालय प्रवेशमा अवरोध सिर्जना गरिएको थियो ।
पिछडा वर्गको जाति उत्थानका लागि आएको बजेटबाट भैंसी किनिएको तथा त्यसैको भुक्तानी र पिछडा वर्गको नाममा आएको बजेट निकासा गराउन नयाँ खालको आन्दोलन गरिएको अध्यक्ष बर्माले बताउनुभयो ।
सरकारले स्थानीय विकास मन्त्रालयमार्फत तराईका २० जिल्लामा पिछडा वर्गभित्र पर्ने जातजातिको उत्थान र विकासका लागि पठाइएको रकम गत वर्ष पनि बाँकेमा हिनामिना भएको थियो ।