सन्धिखर्क नगरपालिका बनेपछी अर्घाखाँचीमा खुसीयाली

– शोभाखर पन्थी

साउन-१ अर्घाखाँची  । सरकारले सन्धिखर्कलाई नगरपालिका घोषणा गरेपछी अर्घाखाँची जिल्लामा खुसीयाली छाएको छ ।

जिल्लाको सदरमुकाममा नगरपालिका बनेपछी जिल्लाको पहिचान माथी उठ्ने र विकासका लागि थप स्रोत र साधनको बृद्धि हुने भएपछी यहाँका बासिन्दाहरुमा खुसीयाली छाएको हो ।

अर्थमन्त्री भरतमोहन अधिकारीले शुक्रबार संसदमा आर्थिक वर्ष ०६८-०६९ को बजेट प्रस्तुत गर्दा ४१ वटा नगर पालिकाको घोषणा गर्दा सन्धिखर्कलाई समेत सामेल गरेर घोषणा गरेपछी जिल्लाबासी खुसीले रमाएका छन्  ।

नगरपालिकाको लागि आवश्यक पर्ने संपुर्ण पुर्वाधारहरु तयार हुदा हुँदै पनि राज्यले नगरपालिका नबनाएको भन्दै पटक-पटक गुनासो गर्दै आएका जिल्लाबासीहरुले यस पटक भने सरकारको निर्णय प्रति प्रसन्नता जनाएका हुन् ।

सन्धिखर्क वाङ्गला र नरपानी गाविसलाई मिलाएर सन्धिखर्क नगर पालिका बनाइएको हो । नगरपालिका निर्माण भएपछि अनुदान बढ्ने जग्गा जमीनका मुल्याङ्कनमा बृद्धि हुने र स्थानीय आय आर्जका श्रोतमा बृद्धि हुने स्थानीय विकास अधिकारी पुण्य विक्रम पौडेलले बताए ।

अर्घाखाँचीबासीले आफ्नो जिल्लामा नगरपालिका बनेपछी देशबाहिर रहेका आफन्तहरुलाई मोवाइलबाट खवर गरेका छन् । भने पहिलो पटक अर्घाखाँचीडट्कम मार्फत समाचार पढन पाएका थिए।

देशभित्र र स्वयं जिल्लाभित्रै रहेकाहरुले पनि फेसबुक मोबाईल एसएमएस तथा अर्घाखाँचीडट्कम मार्फत शुभकामना आदान प्रदान गर्न थालेका छन् । सन्धिखर्क नगरपालिका बनेकोमा सबैभन्दा बढी खुसी त वाङ्गला र नरपानी गाविसका बासिन्दा भएका छन् वाङ्गलाका नारायण भट्टराई शास्त्रीले गाउँमा बसेर पनि नगरबासी हुन पाएकोमा आफु निक्कै खुसी भएको बताए । उनले अव आफुहरुले गाउँमा बसेर पनि नगरपालिकाकेा सुविधा लिन सक्ने जनाए ।

उद्योग बाणिज्य संघका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले जिल्लामा नगरपालिका बन्नुलाई उद्योगी व्यवसायीहरुले पनि सकारात्मक रुपमा लिएको बताउँदै सदरमुकामसँग जोडिएको खाँचीकोट गाविसको फुदवाङ बजार गच्छे बजार अर्घाको विबार बजार लाई कटाएर नरपानी र वाङ्गलाका विकट र दुर्गम ठाउँहरुलाई नगरपालिकामा सामेल गर्नु अनुचित भएको बताउँदै सिमाङ्कन र भुगोल मिलाउन सरकारको ध्यानाकर्षण गराउने बताए ।