कलेन्द्र सेजुवाल
सुर्खेत – ‘जेल ब्रेक’ को घटना सेलाउन नपाउँदै आइतबार सुर्खेत कारागारमा एक प्रहरीले आफ्नै कन्चटमा गोली हानी आत्महत्या गरेका छन्। साँझ ५: ५० बजे रुकुम, खलंगा घर भएका प्रहरी जवान जुमानसिंह थापाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
थापाले कारागारको कोतगारमा रहेको पेस्तोल निकालेर दायाँ कन्चटमा गोली हानेका थिए। जिल्ला अदालतबाट बन्दी ल्याएर आएका प्रहरीहरुको हतियार थन्काउने क्रममा उनले कोतगारमा प्रवेश गरी आत्महत्या गरेको प्रहरीको भनाइ छ। उनको कारागारमै मृत्यु भएको थियो।
थापाले आत्महत्या गर्नुको कारण खुलेको छैन। घटनाको केही समय अघिसम्म उनी मानसिक रुपमा तन्दुरुस्त थिए। सँगै कार्यरत एक प्रहरीको बच्चालाई उनले कारागार कम्पाउण्डबाहिर डुलाएर भित्र पसेको पाँच मिनेटमै घटना भएको एक प्रहरीले बताए। ‘बच्चालाई चाउचाउ खुवाएर हामीलाई जिम्मा दिई भित्र गएका थिए, केहीबेरमा बन्दुक पड्केको आवाज आयो,’ सहकर्मी एक प्रहरीले भने- ‘त्यसको केही बेरपछि त उनको मृत्यु भइहाल्यो।’ अदालतबाट फर्केका प्रहरीहरुको बन्दुक थन्काउन कोतगारको ढोका खोलेको मौका छोपी भित्र पसेर आत्महत्या गरेको उनको भनाइ छ।
क्षेत्रीय प्रशासन कार्यालयमा दरबन्दी भएका थापा मंगलबार’जेल ब्रेक’ गरी दुई कैदी फरार भएपछि कारागार खटाइएका थिए। उनी त्यसअघि बांगेसिमलमा काजमा थिए। सुर्खेत जिप्रकाका डिएसपी आनन्द मरहठ्ठाले थापाले आत्महत्या गर्नुको कारणबारे बुझ्ने काम भइरहेको बताए।