५ हजार राजस्वसहित फारम बुझाएको ४५ दिनभित्रै पासपोर्ट

उपेन्द्र लामिछाने

वीरगन्ज  – राहदानी बनाउन राजधानी जान नपरेपछि सर्वसाधारणले सजिलो महसुस गरेका छन्। सरकारले साउन १ बाट काठमाडौं उपत्यकाबाहिरका ३८ जिल्लाबाटै राहदानी पाउने व्यवस्था गरेको हो।

‘पासपोर्ट बनाउनका लागि काठमाडौं जाने झन्झटबाट मुक्ति मिलेको छ,’ वीरगन्ज-१० पानीटंकीका नयिम साहले भने, ‘खर्च र समय दुवै जोगिएको छ।’ जिल्लाबाटै राहदानी लिएपछि केही महिनाभित्रै मलेसिया जाने उनले सुनाए।

पर्सा, ठोरीका मनोज बस्नेतले पनि राहदानीका लागि राजधानी जान नपरेकोमा खुसी व्यक्त गरे। ‘मैले ५ हजार राजस्वसहित फारम बुझाएँ,’ खाडी मुलुक युएई जाने तयारीमा रहेका उनले भने, ‘जिल्ला प्रशासन कार्यालयले ३५ दिनपछि आउनु भनेको छ।’

जिल्ला प्रशासन कार्यालय पर्साका उपसचिव कौशलराज शर्माले साउनको तेस्रो दिनसम्म सयभन्दा बढीले आवेदन फाराम बुझाएको जानकारी दिए।

पर्याप्त सूचना नहुँदा बारा र रौतहटका सर्वसाधारणसमेत राहदानी फारम बुझाउन पर्सा आउन थालेको उनले बताए। बारा र रौतहटकाले उनीहरुकै जिल्ला प्रशासन कार्यलयमा फारम बुझाउनुपर्ने व्यवस्था छ। ‘हामीले उनीहरुलाई सम्झाएर उनीहरुकै जिल्लामा पठाएका छौं,’ उनले भने, ‘ती जिल्लामा संकलन भएका फारम सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत यहाँ आउने छन्।’

यहाँ संकलन भएको फारम १५ दिनभित्र राजधानी पुग्ने र त्यहाँबाट १५ दिनभित्र एमआरपी पासपोर्ट प्रिन्ट हुने परराष्ट्र मन्त्रालय अन्तर्गतको केन्द्रीय राहदानी कार्यालयका शाखा अधिकृत विजयकुमार राउतले बताए। ‘फारम बुझाएको ४५ दिनमा सम्बन्धित व्यक्तिले पासपोर्ट पाउने छन्,’ उनले भने।