दक्षिण एशियाली मुलुकहरुमा हेपाटाइटिसका कारण आगामी दश वर्षमा ५० लाख मानिसको मृत्यु हुन सक्ने

विश्व स्वास्थ्य संगठनले आगामी दश वर्षमा दक्षिण एशियाली मुलुकहरुमा हेपाटाइटिसका
कारण ५० लाख मानिसको मृत्यु हुन सक्ने भन्दै चिन्ता व्यक्त गरेको छ ।

दक्षिण र
दक्षिण पूर्वी एशियामा हेपाटाइटिस्को रोगबाट बालबालिका बढी प्रभावित हुने संगठनको
भनाई छ । पछिल्लो दशकमा दक्षिण एशियामा हेपाटाइटिसका कारण मर्नेहरु मेलेरिया, डेंगी
र एड्सबाट मर्नेहरुको कुल संख्या भन्दा बढी पाइएको छ । गत वर्ष करिब २ करोड ९० लाख
मानिस हेपाटाइटिसबाट संक्रमित भएका थिए जबकी एड्स संक्रमितको संख्या ३ लाख ५० हजार
थियो ।

हेपाटाइटिस्को बढ्दो खतरालाई ध्यानमा राखी यो रोग विरुद्ध प्राथमिकताका साथ
खोप लगायतका अभियान सञ्चालन गर्न विश्व स्वास्थ्य संगठनले दक्षीण एशियाली
राष्ट्रहरुलाई आग्रह गरेको छ । दुषित खाना र फोहोर पानीको प्रयोग तथा रोग प्रतिको
अज्ञानताका कारण हेपाटाइटिस फैलिएको विश्व स्वास्थ्य संगठनको भनाई छ । संगठनले
आगामी विहिबार विश्व हेपाटाइटिस दिवस मनाउने तयारी गरिरहेको छ ।