समतामुखी, सन्तुलनवादी अर्थतन्त्रको खाँचो

– ढुण्डीराज शास्त्री, पूर्वमन्त्री
 
सन् १९९० को दशकदेखि नेपाललाई जुन अर्थतन्त्रको बाटोमा अघि बढाउने प्रयत्न गरिएको थियो, त्यसैलाई अहिले तीन खम्बे मिश्रति अर्थतन्त्र भनिएको मात्र हो । अतः भविष्यमा पनि आर्थिक क्षेत्र र अर्थव्यवस्थामा ठूलो परिवर्तन हुने, जनताका आवश्यकता पूर्ति हुने अवस्था र व्यवस्थामा परिवर्तन र प्रगति हुने आशा गर्न सकिँदैन । यो अर्थतन्त्रले समाज परिवर्तन गर्न सक्नेछैन । आज जे छ त्यही र त्यस्तै हुनेछ । अहिलेको यथार्थ भनेको धनी र गरिबको सामन्ती संस्कार, संस्कृति र व्यवस्थाबाट मुक्त हुन नसकेको समाज हो । जतिपटक क्रान्ति र राजनीतिक व्यवस्था परिवर्तन भए पनि मुलुकमा आर्थिक क्रान्ति, आर्थिक विकास र प्रगति रोकिएको छ । आर्थिक क्रान्ति र विकासको प्रवाहमा सबै नागरिकलाई जोड्ने गरी अर्थतन्त्रमा परिवर्तन हुन सकेको छैन । आर्थिक विकास र समाज परिवर्तन क्रान्तिका सबैभन्दा महत्त्वपूर्ण उपलब्धि होइनन् र ?
अर्थतन्त्र परिवर्तन नहुनु, गर्न नसक्नु या गर्न नदिनुका कारण के हुन् ? हठ, आग्रह, पूर्वाग्रह, अवैज्ञानिक चिन्तन र स्वार्थ हुन सक्छन् । अर्थतन्त्र परिवर्तन र विकास हुन नसक्नुका परिणाममध्ये एउटा भिखारीले भीखपात्र हातमा लिएर समाजका अगाडि खडा भएझैं सधैं अन्तर्राष्ट्रिय समुदायका अगाडि दान, अनुदान र ऋणका रूपमा भीख माग्न बाध्य हुनु पनि हो ।

जापान विश्वका धनी देशहरूमध्ये दोस्रो/तेस्रोमा पर्ने धनी देश हो तर एकजना जापानी पनि विश्वका धनाढ्यहरूको लिस्टमा परेको पाइँदैन । त्यो मुलुक सम्पन्न र शक्तिशाली छ, सबै जापानीहरू धनी छन् । मुलुक, समाज र आफूप्रतिको कर्तव्यबोध तिनीहरूमा छ र कर्तव्य पूरा गर्न उनीहरू अहोरात्र सजग छन् र काममा लागिरहन्छन् । जापानी समाजलाई यसरी स्पष्ट बुझ्न सकिन्छः १० जना मानिस छन्, सबै मोटा र अग्ला छन् । अपेक्षाकृत मोटा र दुब्ला, छोटा र अग्ला अवश्य छन् । जापानी समाज थोरै कम आर्थिक अन्तर भएका नागरिक भएको सन्तुलित र समताका बलमा अघि बढेको समाज हो । राष्ट्रिय स्वाभिमान, राष्ट्रिय समस्या र स्वार्थका अगाडि जापानीहरू व्यक्तिगत केही देख्दैनन् र केही हेर्दैनन् । राष्ट्रिय स्वाभिमान बचाउन, राष्ट्रिय समस्या समाधान गर्न र राष्ट्रिय स्वार्थ पूरा गर्न आफू र आफ्नो सबै समर्पित गर्न उनीहरू सधैं तयार छन् । इतिहास हेर्ने हो भने गर्दै आएका छन् ।

यस्तै अर्को मुलुक हो इजरायल जुन मुलुकको इतिहास अत्यन्त छोटो छ तर छोटो इतिहास भए पनि यसको इतिहास अनुकरणीय र गौरवपूर्ण छ । विश्वका विभिन्न मुलुकमा छरिएर रहेका आफ्नो राज्य नभएका ज्ञान, विज्ञान, धनसम्पदाका धनी तर राज्यविहीन भई अपमान र अत्याचार सहन बाध्य यहुदीहरूमा राज्य निर्माणको तीव्र इच्छा थियो । राज्य निर्माणको पहिलो सर्त भूभाग हो । यहुदीहरूको भूभाग थिएन । इसा मसीहको धर्मोपदेश ग्रन्थमा कतै अहिले इजरायल राज्य रहेको भूभागलाई इंगित गरी लेखेको रहेछ यहुदीहरूको राज्य त्यही हुनेछ ।

विश्वका विभिन्न मुलुकमा छरिएर रहेका यहुदी युवायुवती लुक्दैछिप्दै त्यहाँ पुगेर सामूहिक र सहकारी रूपमा रहन र काम गर्न थाले । आठ दस हजारको संख्या पुग्दानपुग्दै अलग राज्यको माग र संघर्ष सुरु भयो । लगभग पच्चीस हजारको संख्या पुग्दा इजरायल नामको अलग राज्य बनाउन सफल पनि भए । राज्य मात्र बनाएनन् अधिकांश भाग दलदल र मरुभूमि रहेको त्यो भूभागलाई मानव निवास योग्य र उर्वर पनि बनाए । अडोसपडोसका सीमावर्ती ८-९ मुलुक नवोदित त्यस राज्यका विरुद्ध जाइलागे । भर्खर स्थापित, धेरै कम जनसंख्या रहेको त्यो मुलुक छिमेकी मुलुकहरूसँग डटेर मुकाबिला गरी आफ्नो भूमिको सुरक्षा र द्रुत विकास गर्न सफल भयो । उनीहरूको सफलताको कारण हो राष्ट्र, राष्ट्रिय स्वाभिमानको अनुभव र ज्ञान र यसलाई बिथोलिनबाट बचाई जनतालाई एक सूत्रमा बाँधी निरन्तरता दिने राज्य व्यवस्था ।

सहकारी र सामूहिक संस्थाहरू इजरायल राज्यका जग हुन् । यी कुनाकाप्चा सर्वत्र छन् । उत्पादन र विकासका साथै शान्ति सुरक्षा आदि पनि यी संस्थाहरूमा जोडिएको छ र राष्ट्रलाई एकसूत्रमा बाँध्ने बलिया आधार र राज्यका आर्थिक र राजनीतिक शक्तिका स्रोत पनि यिनै बनेका छन् । इजरायलको राज्यव्यवस्था न पूँजीवादी हो, न साम्यवादी, न अरू कुनै वादी- भौगोलिक, भौतिक, आर्थिक, राजनीतिक र अन्तर्राष्ट्रिय परिवेश र परिस्थिति तथा राज्य र समस्त जनताको उत्थान, विकास र एकतामा आधारित मौलिक निजी राज्यव्यवस्था हो ।

थोरै यहुदीहरू रित्तै हात कुल्लीका रूपमा अर्काको मुलुकमा पुगेर त्यही मुलुकको भूभागमा अर्को राज्य बनाउन मात्र होइन, त्यसलाई विश्व मानचित्रमा एक विकसित राज्यका रूपमा स्थापित गर्न सफल छन् भने हामी नेपालीले किन नसक्ने ? किन सकेनौं ? हामीसँग राज्य छ, स्रोतसाधन छन्, धनसम्पत्ति आदि छ तर कर्म गर्ने मनको अभाव छ ।

नेपालको पहिचान भौगोलिक, भौतिक, आर्थिक, राजनीतिक, सामाजिक र अन्तर्राष्ट्रिय परिवेश र परिस्थिति जनताको उत्थान तथा राष्ट्रिय एकताको उद्देश्यविपरीत विभिन्न वाद, व्यक्तिगत र समूहगत स्वार्थमा फसेको मौलिकताशून्य राज्यव्यवस्था हुन सक्छ । तसर्थ आफ्नै परिवेश र परिस्थितिमा आधारित मौलिक र वैज्ञानिक हुनेगरी राज्यव्यवस्था परिवर्तन नभएसम्म नेपाल र नेपाली समस्यामुक्त, सम्पन्न र शक्तिशाली हुने सम्भावना छैन र आशा गर्न पनि सकिँदैन ।

तीन खम्बे मिश्रति अर्थतन्त्रका नाउँमा चलिआएको अर्थतन्त्रलाई निरन्तरता दिनु मुलुक र जनतालाई धोका दिनुबाहेक अरू केही हुन सक्दैन । तीन खम्बे मिश्रति अर्थतन्त्रले कुनै परिवर्तनको संकेतसम्म गर्दैन । अवश्य चलिआएका अर्थतन्त्रको गुण होइन, बाह्य फ्रेमहरूलाई स्पष्ट देखाउँछ । सार्वजनिक र निजी सम्पत्ति र सहकारी संस्था भएका मुलुकका अर्थतन्त्रलाई मिश्रति अर्थतन्त्र भन्ने हो भने विश्वका लगभग सबै मुलुकका अर्थव्यवस्थालाई मिश्रति भने हुन्छ ।

अहिलेको नेपालको अर्थतन्त्रलाई ‘समतामुखी सन्तुलनवादी’ अर्थतन्त्रमा परिवर्तन गर्नु आवश्यक छ । यसको कार्यान्वयन प्रक्रिया र कार्यान्वयनमा निम्नलिखित उपलब्धि मुलुकले प्राप्त गर्न सक्नेछः

यो अर्थतन्त्र नेपालको आफ्नै मौलिक अर्थतन्त्र हुनेछ ।

सबै नेपाली नागरिकलाई अर्थतन्त्र र आर्थिक विकासको मूल प्रवाहमा नजोडेसम्म यसको कार्यान्वयन सम्भव छैन ।

सबै नेपालीलाई अर्थतन्त्र र आर्थिक विकासमा जोड्न क्षेत्रको आवश्यकता पर्छ । यो आवश्यकता पूरा गर्न गाविस, वडा र गाउँ क्षेत्रमा जानुपर्छ । ती क्षेत्रको परिचालन र विकास अनिवार्य हुन्छ ।

प्रत्येक क्षेत्रका स्रोतहरूको खोज, अनुसन्धान गर्ने । गाउँले र गरिब जनतालाई तत्सम्बन्धी ज्ञान, सीपको तालिम दिने । तिनै गाउँले र गरिब जनता सम्मिलित सहकारी र सामूहिक संस्था बनाउने । तिनैद्वारा यी प्रोजेक्टहरू सञ्चालन र उत्पादन गर्ने । यस्तो नीति र कार्यक्रमले लगभग सबै नेपाली र राज्यका सबै क्षेत्रलाई उत्पादन र विकासमा जोड्न सक्नेछ ।

उत्पादनका लागि आवश्यक सहयोग पुर्‍याउने सरकारी नीति हुनुपर्छ ।

उत्पादनमा आइसकेका प्रोजेक्टहरूको रेखदेख, अनुगमन, मूल्यांकन आदि आवश्यक सहयोगका लागि सरकारले ध्यान दिनुपर्छ ।

अर्कोतर्फ व्यक्तिगत स्वामित्वमा रहेको चलअचल सम्पत्ति र अन्य आयस्रोतको मूल्यांकन र क्रमबद्ध वैज्ञानिक कर प्रणाली दृढतासाथ कार्यान्वयन गर्ने नीति अवलम्बन अनिवार्य हुनेछ । प्रत्येक नीति र कार्यक्रम सन्तुलित र समानता भएका नागरिक भएको सम्पन्न समाज निर्माणको उद्देश्यबाट निर्देशित हुनुपर्छ । मेरो आशा थियो- माओवादी, कांग्रेस र एमालेले सन्तुलित र समतामूलक समाज निर्माणको दिशामा मुलुकलाई अघि बढाउने अर्थतन्त्रको नमुना प्रस्तुत गर्नेछन् । म निणर्ायक ठाउँमा थिइनँ तैपनि आशा जाग्नुको आधार थियो- यी तीनै दल समाजवादी धारबाट संगठित र संघर्षशील बन्दै आएका हुन् । यिनको वर्चस्व, नेतृत्व र बहुमत संविधानसभामा छ । मुलुक र समाजको परिवर्तन र विकासमा बढी उपयोगी आफ्नै मौलिक नयाँ अर्थतन्त्र आउनुपर्ने ठाउँमा तीन खम्बे मिश्रति अर्थतन्त्र भनेर आउनु, सबै दल यसमा सहमत हुनुको अर्थ के हो ? मलाई आश्चर्य लागिरहेको छ । बाध्यता, अज्ञानता र सिद्धान्त तथा उद्देश्यप्रतिको उदासीनता अथवा स्वार्थ यीमध्ये कुनै हुन सक्छ । सबै दल, विशेषगरी तीन दलका नेताहरूसँग यसै लेखका माध्यमद्वारा अनुरोध गर्छु- पुनर्विचार गर्नुहोस्, पछि पछुताउनु नपरोस् ।

मलाई सम्झना छ र नेपाली कांग्रेसका साथीहरूलाई पनि होला । २०५० सालको सुरुतिर म पार्टीको नीति र कार्यक्रम विभागको संयोजक रहेका बेला मैले मुलुकलाई संघीय संरचनामा परिवर्तन गर्&#23