अर्घाखाँचीको वाङ्गला बालमैत्री गाउँ

– शोभाखर पन्थी
साउन १३ अर्घाखाँची  ।   एकवर्ष पहिले सम्म बिद्यार्थीहरुलाई कक्षामा पढाउन जाँदा लठ्ठी लिएर जाने अर्घाखाँचीको वाङ्गलाका शिक्षकहरु अहिले खल्तीमा मिठाई लिएर पढाउन जाने गरेका छन् ।
 
बिद्यार्थीलाई डर र धम्कीको आधारमा पढाउनु र्पछ भन्ने मान्यता लिएर पढाउन जाने शिक्षकहरुले जिल्ला बालकल्याण समितिबाट एक हप्ते भय रहित वातावरणमा शिक्षण पद्धतिू तालिम पाएपछि उनिहरुको कार्यशैलिमा परिवर्तन आएको छ ।
वाङ्गला गाविसलाई बालमैत्री गाविस बनाउन बालकल्याण समितिले पाचवर्षिय योजना बनाएर गाउं गाउंमा सचेतना जगाउन सुरु गरेको छ । अहिले वाङ्गलाका शिक्षकहरुले बिद्यार्थी हरुलाई साथीको जस्तै व्यवहार गर्न थालेका छन् । कठोर र रुखो स्वाभावको व्यबहार गरेर बिद्यार्थीलाई कुटपिट गर्ने शिक्षकहरुले बिद्यार्थीलाई मायालु व्यवहार गरेर सिकाई बुझाई पढाउन थालेपछि कक्षा शिक्षण निकै प्रभावकारी भएको बिद्यार्थी श्रीजना आचार्यको भनाई छ ।
प्राथमिक बिद्यालयको कक्षा १ मा पढाउने शिक्षकहरुले त बिद्यार्थीहरुलाई आकर्षित गर्न हातमा चक र डष्टर मात्र होईन खल्तीमा मिठाई समेत लैजाने गरेको टुनिपोखरा प्राबि प्रअ तुल्सीराम पौडेलले वताए ।
 
शिक्षकलाई देख्दा डरले भाग्ने वाङ्गलाका बिद्यार्थीहरु अहिले शिक्षकसंग झुम्मीएर हिड्न थालेका छन् । उनिहरुले शिक्षकलाई गुरुमात्र होईन आफ्ना दुःख सुखको कुराकानी गर्ने साथीका रुपमा समेत हेर्ने गरेको वाङ्गला ७ का अभिभावक रामप्रसाद बन्जाडेको भनाई छ ।
 
शिक्षकहरुको मित्रवत व्यवहार पाएपछि अटेर गरि पढ्न नमान्ने बिद्यार्थीहरु पनि अनुशासीत भएर पढ्न थालेका छन् । घरमा आएर झगडा गर्ने र गाउँमा तथा बिद्यालयमा समेत नराम्रो कामगर्ने बिद्यार्थीहरु अहिले सरल र अनुशासीत भएका छन् । 
 
वाङ्गलाका सबै बिद्यालयहरुमा बालक्लव समेत बनाईएको छ । बिद्यार्थीहरु प्रत्येक हप्ताको सुक्रवार क्लवको बैठक गर्ने र क्लवमा बालअधिकार र अनुशासनका बारे छलफल गर्ने गरॆका छन् । क्लवमा सामेल भएका बिद्यार्थीहरुले आफ्नो गाउँ र टोलमा समेत सचेतना फैलाउँदै हिड्ने गरेको स्थानिय बासिन्दा पुनबहादुर कुमाल बताउँछन् । उनि थप्छन् बालबालिकाको व्यवहारका कारण घरमा झैं- झगडा गर्ने अभिभाबकहरु पनि अनुशासीत बन्न थालेका छन् ।

यसै बिच जिल्ला बालकल्याण समितिले वाङ्गला गाबिसका १० वटा सरकारी बिद्यालय र एउटा मदरशा लाई शैक्षिक सामाग्री बितरण गरेको छ । समितिले गाबिस बिद्यालयहरुलाई शैक्षिक सामाग्री खरीदका लागि एकमुष्ठ २ लाख रुपैया उपलव्ध गराएपछि बालबिकास केन्द्र र बाल क्लवहरु व्यवस्थापन गर्न निकै सजिलो भएको जिवनोद्धार उमाबिका प्राचार्य मुक्तिराम भण्डारीले बताए ।