वेलायतले लिवियाका विद्रोहीले गठन गरेको संक्रमणकालीन राष्ट्रिय परिषद्लाई मान्यता दिएकोमा लिवियाद्वारा भत्सर्ना

अमेरिका र फ्रान्सले जस्तै वेलायतले पनि लिवियाका विद्रोहीले गठन गरेको
संक्रमणकालीन राष्ट्रिय परिषद्लाई मान्यता दिएकोमा लिवियाले भत्सर्ना गरेको छ ।
लिवियाका उप विदेशमन्त्री खालिद काईमले बेलायती निर्णय अस्वीकार्य र गैरजिम्मेवार
भएको बताएका छन् । लिवियाले यो निर्णय कानुनी प्रक्रिया मार्फत उल्ट्याउने प्रयास
गर्न सक्ने उनको भनाई थियो । बेलायतले लण्डनमा रहेका कर्णेल गद्धाफीका सबै आठजना
कुटनीतिक प्रतिनिधिलाई पनि निष्काशन गरेको छ ।

लिवियाका विद्रोहीले आफ्ना नयां
कुटनीतिक प्रतिनिधिलाई लण्डनका लागि नयां राजदूत नियुक्त गरेको जनाएको छ । उता,
लिवियामा ४२ वर्षदेखि शासन गरिरहेका गद्धाफी विरुद्धको संघर्ष जारी छ भने नेटोले
पनि सैन्य कारवाही तीब्र पारिरहंदा गद्धाफीले भने देश नछोड्ने अडान दोहोर्‍याएका
छन् ।