काठमाडौ – नेपाल पत्रकार महासंघ र शिक्षा विभागको सहकार्यमा प्रत्येक वर्ष प्रदान गरिदैं आएको
राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार यस वर्ष गोरखापत्र दैनिकका पत्रकार प्रकृति
अधिकारीले पाउने भएका छन् । महासंघ र विभागका पदाधिकारी सदस्य रहेको छनौट समितिले
सोमबार उक्त निर्णय सार्वजनिक गरेको छ ।
शिक्षा क्षेत्रमा कलम चलाएका पत्रकारहरु मध्येबाट एक जनालाई प्रदान गरिने उक्त
पुरस्कारको राशी ५१ हजार रुपैयाँ रहेको छ । त्यस्तै,क्षेत्रीय शिक्षा पत्रकारिता
पुरस्कार पूर्वाञ्चलबाट एकराज गिरी (पूर्वाञ्चल दैनिक), मध्यमाञ्चलबाट केदार
सिवाकोटी (कान्तिपुर टेलिभिजन, दोलखा), उपत्यकाबाट भवानीश्वर गौतम (नयाँ पत्रिका
दैनिक), पश्चिमाञ्चलबाट मुकेश पोख्रेल (मेचीकाली राष्ट्रिय दैनिक), मध्यपश्चिमबाट
रुद्र खड्का (नागरिक दैनिक) र सुदूरपश्चिमाञ्चलबाट कपिल भट्ट (एजुकेशन पेजेज)लाई
दिने निर्णय गरेको छ । क्षेत्रीय पुरस्कारको राशी जनही २० हजार रुपैयाँ रहेको छ ।
त्यसैगरी,लेखनवृत्तितर्फ पूर्वाञ्चलबाट भीम चापागाई (नयाँ पत्रिका), सुरेश
घिमिरे (नमस्ते एफ्.एम्.), मध्यमाञ्चाल रामप्रसाद न्यौपाने (एजुकेशन पेजेज),
मञ्जिमा ढकाल (द राइजिङ् नेपाल), उपत्यकाबाट प्रदीप न्यौपाने (राजधानी दैनिक),
सञ्जय पन्थी (कारोवार दैनिक) छन् । पश्चिमाञ्चलबाट कृष्ण आचार्य (कान्तिपुर
दैनिक,गोरखा) र घनश्याम गौतम (कान्तिपुर दैनिक, गुल्मी), मध्यपश्चिमबाट रुद्र
सुवेदी (मध्यपश्चिम दैनिक), गोपाल प्रसाद भट्टराई (गोरक्ष दैनिक) तथा
सुदूरपश्चिमाञ्चलबाट पुष्पराज जोशी (नागरिक दैनिक) र पदमराज जोशी (अन्नपूर्ण दैनिक)
ले १० हजार रुपैयाँको लेखनवृति पुरस्कार पाएका छन् ।