सर्लाहीमा सहोदर दाइले अंश विवादको झगडामा आफ्ना भाइ, बुहारी र भतिजीको सामूहिक हत्या

– उपेन्द्र लामिछाने

वीरगन्ज  – सर्लाहीमा सहोदर दाइले आफ्ना भाइ, बुहारी र भतिजीको सामूहिक हत्या गरेका छन्। अंश विवादमा झगडा हुँदा पडरिया-९ शिवनगरका राजेन्द्र साहले सोमबार राति १२ बजे ४० वर्षीय भाइ रामेश्वर, ३२ वर्षीया गर्भवती सुरकीदेवी र १० वर्षीया खुस्बुको हत्या गरेको प्रहरीले जनाएको छ।  

सुरकी देवी ६ महिनाकी गर्भवती थिइन्। घटनास्थल सदरमुकाम मलगंवाभन्दा करिब २० किलोमिटर पश्चिममा पर्छ।

एकै घरमा बस्दै आएका दुई भाइबीच अदालमा अंश मुद्दा चलेको प्रहरी उपरीक्षक मोहनराज जोशीले बताए। करिब ५ बिग्हा जमिनको मुद्दाको पेशी आगामी २२ गते रहेको जानकारी आफूले पाएको जोशीले बताए। भाइको परिवारको हत्याको लागि राजेन्द्रले आफ्ना दुई छोराको समेत सहयोग लिएको देखिन आएको प्रहरीले बतायो।

घटनापछि राजेन्द्रले शव घिसारेर नजिकैको लखनदेवी खोलामा फालेका थिए। उनको पूरै परिवार फरार छ। प्रहरीले लखनदेवी खोलाभन्दा १ घन्टा तल सुन्दरपुर भन्ने ठाउँमा मंगलबार बिहान सुरकी देवीको शव फेला पारेको छ। जिल्ला प्रहरी कार्यलयबाट प्रहरी निरीक्षक मुक्ति चौधरीको नेतृत्वमा प्रहरी टोली उक्त शव भएको स्थानमा पुगेको छ। ‘अन्य शव अझै भेटिएको छैन’, प्रहरी उपरीक्षकले भने- ‘खोलामा बाढी आएकाले फेला पार्न समस्या भएको छ।’

हत्यापछि फरार रहेका राजेन्द्र साह र उनको परीवारको खोजी कार्य जारी रहको प्रहरीले जनाएको छ।