कपिलवस्तु । भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीको चौतर्फी विकासका लागि ३ अर्ब अमेरिकी डलर खर्च गरिने भएको छ ।
राष्ट्रसङ्घीय औद्यौगिक विकास सङ्गठन, यूएनआईडीओ र एसिया प्यासिफिक एक्सचेन्ज एन्ड कोपरेशन फाउन्डेशनबीच जनगणतन्त्र चीनमा भएको सम्झौता अनुरुप लुम्बिनी क्षेत्रको विकासको लागि यो रकम खर्च गरिने भएको हो । जनवादी गणतन्त्र चीनमा यसरी दुई गैरसरकारीसंस्था बीच यसै साता भएको दुईपक्षीय सम्झौताको लुम्बिनीबासीले स्वागत गरेका छन् ।
संझौताको स्वागत गर्दै लुम्बिनी विकास कोषका सदस्य सचिव राजेन्द्र थापा मगरले जापानी वस्तु कलाविद् प्राध्यापक केन्जो टागेले तयार पारेको ३० बर्षे गुरुयोजना बजेटकै अभावमा अझै पूरा नभएको बेलामा लुम्बिनीको विकासका लागि गरिएको ठूलो धनराशीको संझौता फलदायी हुने बताए ।
मित्रराष्ट्र चीनको प्रयासमा बुद्धिष्ट रिसोर्ट, बुद्ध चक्रपथ, सडक, दुरसञ्चार तथा पर्यटन पूर्बाधार बनाउन हालै भएको दुई संस्थाबीच समझौता पारदर्शी ढङ्गबाट कार्यान्वयनका लागि स्थानीयबासीको सहभागिता र सहकार्यमा अघि बढाए मात्र फलदायी हुने विश्वसम्पदा युवा क्लब लुम्बिनीका अध्यक्ष मिथुनमान श्रेष्ठले सुझाव दिए ।