आज १७ औं विश्व आदिवासी दिवस

काठमाडौ  –   १७ औं विश्व आदिवासी दिवसको अवसरमा विभिन्न ब्यक्तिहरुले नेपाली आदिवासी जनजाति समुदायलाई शुभकामना ब्यक्त गरेका छन् ।  

शुभकामना सन्देश दिनेमा राष्ट्रपति रामवरण यादव, संविधानसभाका अध्यक्ष सुवास नेम्बाङ, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, काँग्रेस सभापति सुशील कोइराला रहेका छन् । 

नेम्वाङले सन्देशमा सदियौंदेखि राज्यद्वारा विभेद, शोषण, दमन र उत्पीडनमा परेका आदिवासी जनजातिको अधिकार र पहिचानका निम्ति नेपाल आदिवासी जनजाति महासङ्घले निर्वाह गरेको भूमिका महत्वपूर्ण एवम् सराहनीय रहेको बताएका छन् । 

उनले विश्वभरका आदिवासीले मनाउन गइरहेको दिवसलाई आदिवासी जनजातिको मात्र नभई सिङ्गो नेपालको राष्ट्रिय दिवसका रुपमा लिन समेत आग्रह गरेका छन् । 

काँग्रेसका सभापति कोइरालाले शुभकामना सन्देश दिंदै अहिलेकै परिस्थिति रहेमा भदौ १४ गतेभित्र मुलुकले लोकतान्त्रिक संविधान प्राप्त गर्ने अवस्था नदेखिने बताएका छन् । 

आदिवासी जनजाति समुदायले एक महिना अघिदेखि नै विभिन्न कार्यक्रम गरेर विश्व आदिवासी दिवस मनाउदै आइरहेका छन् । यही क्रममा मंगलबार राष्ट्रिय सभागृहमा मूल कार्यक्रम आयोजना गरिंदैछ ।