गैर कानुनी रुपमा नेपालीहरुलाई विदेश पठाउने काम गर्दै आएका बाबुछोरालाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोको टोलीले बालाजुको माछापोखरीबाट मोरङका दुर्गा निरौला र उनको छोरा बिक्रम भन्ने सोमनाथ निरौलालाई पक्राउ गरेको हो ।
बालाजुमा कन्काई मनी ट्रान्सफर सञ्चालन गर्दै उनीहरुले गैर कानुनी रुपमा म्यानपावरको कामपनि गर्दै आएको प्रहरीले जनाएको छ । अभियुक्तहरुले २२ जनालाई प्रतिव्यक्ति १ लाख ५० हजार लिएर इराक र १६ जनालाई प्रतिव्यक्ति २ लाख ५० हजार लिएर अफगानिस्तान पठाइसकेको प्रहरीले जनाएको छ ।
प्रहरीले विभिन्न व्यक्तिका राहदानी, पुलिस रिपोर्ट, मेडिकल रिपोर्ट र विभिन्न देशका भिसा समेत उनीहरुबाट बरामद गरेको छ । यी बाबुछोराले दक्षिण कोरिया, पोल्याण्ड, अफगानिस्तान र इराकमा दर्जनौलाई पठाइसकेको प्रहरीले जनाएको छ ।