बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले शान्ति, सुव्यवस्था कायम राख्न हुल्याहा र लुटेराविरुद्ध धरपकड शुरु भएको जानकारी दिनुभएको छ । उहांले अराजकता रोक्न जुनसकै कारबी गरिने र लुटेरा धपाउन पानीको फोहोरा २४ सै घन्टा उपलब्ध गराउनु भयो । राजधानी सहर लन्डन शान्त रहे पनि म्यानचेस्टर, साल्फोर्ड, लिभरपुल, नोट्टिङ.घम र बर्मिङ्घमलगायतका सहरमा लुटपाट जारी छ । बर्मिङघममा एउटा कारले हान्दा तीन मुस्लिमको ज्यान गएको छ ।
उनीहरु एसियाली भएको बताइएको छ । सरकारी कोब्रा आपतकालिन समितिसँगको छलफलपछि प्रधानमन्त्री क्यामरुनले स्थिति नियन्त्रण गर्न आवश्यक पर्ने जुनसकै रणनीति अपनाउन प्रहरीलाई आदेश दिनुभयो ।
अब प्रहरीले हुल्याहा र लुटेरा विरुद्ध लाठी चार्जलगायतका उपाय अख्तियार गर्न पाउने छन् । एसोसिएसन अफ चिफ पुलिस अफिसर्सका अध्यक्ष सर हग अर्डेृले तत्कालका लागि पानीको फोहरा प्रयोग नगरिने र यस्तोे उपाय अहिलेको तनावका लागि उपयुक्त नभएको बताउनु भएको छ । गृहमन्त्री थरेसा मैले सबै प्रहरीलाई विशेष जवान परिचालन गर्न, विदा रद्द गर्न र कठोर उपाय अपनाउन आदेश दिएको बताउनु भएको छ ।
प्रहरीले सीसी टिभी प्रमाणका आधारमा थप शंकास्पदलाई पक्राउ थालेको छ । तस्बिरका आधारमा अपराधीको पहिचान भई पक्राउ परिरहेका छन् । लन्डनमा पक्राउ परेका व्यक्तिहरुलाई अदालतमा उभ्याइएको छ र अभियोग लागेका व्यक्तिहरुको मामिला हेर्न केही अदालतहरु रातभर नै खुलेका थिए ।
हिंसा र तनावमा दोषी रहेकालाई जेल पठाइने अधिकारीहरुले बताएका छन् । उता, म्यान्चेस्टर र साल्फोर्डमा उत्पात मच्चाउने १ सय १३ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । त्यहाँ पनि हल्याहाले पसलमा लुटपाट मच्चाउनका साथै कार र भवनहरुमा आगजनी गरेका थिए । पश्चिमी मिडल्यान्ड्सको बर्मिङ्घम, वोल्मरहाम्पटन र वेस्ट ब्रोमिचबाट १ सय ९ जनालाई पक्राउ गरिएको छ र २३ जनालाई अभियोग लगाइएको छ । बेलायती प्रहरी स्कटल्यान्ड यार्डले लन्डनमा १६ हजार सुरक्षाकर्मी खटाएको छ ।