कायरो – इजिप्टका पूर्व राष्ट्रपति होस्नी मुबारक विरुद्धको सुनुवाई फेरी सेप्टेम्वर ५ तारिक सम्मका लागि स्थगित गरिएको छ। भने अब हुने सुनुवाईमा संचारमाध्यम टेलिभिजन) लाई प्रत्क्षय प्रसारण गर्न रोक लगाइएको छ।
गत अप्रिलदेखि कायरोको शर्म अल शेख अस्पतालमा नरजबन्दमा रहेर उपचार गराइरहेका मुबारकलाई यसपटक पनि प्रहरीले स्ट्रेचरमा प्रहरी प्रतिष्ठान लगिएको थियो। स्थितिको संवेदनशीलतालाई ध्यान दिंदै अदालत बाहिर व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ । असुरक्षाको कारण देखाउँदै प्रहरी प्रतिष्ठानमै अस्थायी अदालत खडा गरी मुबारकको सुनुवाई हुँदै आएको छ।
जनविद्रोहका दौरान मारिएका प्रदर्शनकारीका परिवारले मुबारकसंग अदालतमा भएको सोधपुछको रेकर्ड मागेका छन् । यता मुबारकका वकिलले भने करिब १६ सय साक्षी बोलाउन अदालतसँग अनुमति मागेका छन् । गत फेब्रुअरीको जनविद्रोहका क्रममा दमनका लागि आदेश दिएको र शासनमा रहंदा व्यापक भ्रष्टाचार गरेको आरोप मुबारकमाथि लगाइएको छ । इजिप्टमा ३२ वर्ष शासन गरेका मुबारकले जनविद्रोह थेग्न नसकी राजीनामा दिएका थिए । अरोप प्रमाणित भएमा मुबारकलाई मृत्यु दण्डको सजाय समेत हुन सक्छ ।
तर मुबारकले भने आफु माथिको आरोप अस्वीकार गर्दै आएका छन् । यसअघि पनि गत साउन १९ गते ८३ वर्षिय मुबारकलाई सुनुवाईका लागि अदालत लगिएको थियो । इजिप्टमा गत फेब्रुअरीमा चलेको १८ दिने जनआन्दोलनमा ८ सय ५० भन्दा बढीको मृत्यु भएको थियो ।