भारतमा भ्रष्टाचार विरोधी सशक्त लोकपाल विधेयकको माग गर्दै आजबाट अनशनको घोषणा गरेका अन्ना हजारेलाई नयां दिल्ली प्रहरीले नियन्त्रणमा लिएको छ । हजारेसंगै यो अभियानका किरन वेदी , अरविन्द लगायत ६० भन्दा बढी समर्थकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । तर अनशन शुरु हुनु अघि हजारेसहित उनका समर्थकलाई प्रहरीले नियन्त्रणमा लिनुको कारण भने खुल्न सकेको छैन ।
यसअघि हिजो मात्र नयां दिल्ली प्रहरीले हजारे सहित उनका समर्थकलाई दिल्लीको जेपी पार्कमा अनशन गर्न नदिने स्पष्ट पारेको थियो । तर उनको टोलीले प्रहरीको कदम अवैधानिक भएको दाबी गर्दे अनशन जारी राख्ने बताएको थियो । महात्मा गान्धीका समर्थक रहेका ७४ बर्षीय हजारेले गत अप्रील महिनामा पनि ९८ घण्टे आमरण अनशन गरेका थिए । उनको अनसन पछि नै भारत सरकारले भ्रष्टाचार विरोधी विधेयक ल्याएको थियो ।
हाल संसदमा छलफलमा रहेको भ्रष्टाचार विरोधी कानुनमाथि अझै कडा प्रावधान राख्नु पर्ने माग अन्नाको छ । हाल भारतको संसदमा यो विधेयक भ्रष्टचारमाथि कारवाहीको लागि पर्याप्त नरहेको भन्दा उनले अनशन शुरु गर्ने जनाएका थिए ।