जापानिज इन्सेफ्लाइटिसबाट कैलाली-सुर्खेतका दुई जना मृत्यु

बाँके – शुक्रबार जापानिज इन्सेफ्लाइटिसले दुई जना मृत्यु भएको छ । कैलाली बौनियाकी ४० वर्षीया कृष्णी थारू र सुर्खेत तातोपानीका १३ वर्षीया चन्द्र शाहीको उपचारका क्रममा भेरी अञ्चल अस्पतालमा मृत्यु भएको हो ।

यस वर्ष यो रोगबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ । गत सोमबार दाङ चैलाहीकी-८ वर्षीया गोमी रानाको मृत्यु भएको थियो । अस्पतालका अनुसार जापानिज इन्सेफ्लाइटिसका बिरामीको संख्या बढिरहेको छ । अहिलेसम्म उक्त अस्पतालमा मात्रै १५ जना इन्सेफ्लाइटिसका बिरामी उपचारका लागि भर्ना भएका छन् ।

काठमाडौंमा इपिडिमियोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक चूडामणि भण्डारीले शनिबार राति आफूलाई यसबारे कुनै जानकारी नभएको बताए ।

जापानी इन्सेफ्लाइटिस ‘फलेवी’ नाउ गरेको भाइरसले गर्दा हुन्छ । उक्त भाइरस सुँगुर र पानीमा बस्ने चराहरूमा पाइन्छ । लामखुट्टेले भाइरसलाई मानिसको शरीरमा पुर्‍याएर इन्सेफ्लाइटिसबाट संक्रमित पार्छ । यो मान्छेबाट मान्छेमा सर्दैन ।

यस रोगको औषधि नभएकाले लामखुट्टेको टोकाइबाट बच्नु सुरक्षाको सबैभन्दा राम्रो उपाय हो । खोप दिँदा रोगबाट बच्न सक्ने ९९ प्रतिशत सम्भावना हुने चिकित्सकहरूको भनाइ छ । ‘जापानिज इन्सेफ्लाइटिसबाट जोगिन १५ वर्ष मुनिका बालबालिकामा खोप लगाउनुपर्छ,’ ईपिडिमियोलजिस्ट मानसकुमार वनर्जीले भने, ‘मधेसमात्र होइन उपत्यकावासी समेत यो रोगबाट चनाखो हुनुपर्छ ।’