राष्ट्रसंघका महासचिव बान कि मुनले लिवियामा जारी संघर्ष अन्त्य गरी कानुन व्यवस्था लागु गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह

संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनले लिवियामा जारी संघर्ष अन्त्य गरी कानुन व्यवस्था लागु गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गर्नुभएको छ ।

 

न्यूयोर्कमा बोल्दै महासचिव बानले लिवियाको संघर्ष नयाँ र निर्णायक चरणमा प्रवेश गरेको भन्दै सत्ता हस्तारण सहज बनाउन एक जुट हुनुपर्नेमा जोड दिनुभयो । उहाँले लिवियाको राष्ट्रिय संक्रमणकालीन परिषद् र अफ्रिकी युनियनबीच राम्रो सम्बन्धका लागि पनि आग्रह गर्नु भयो । युनियनले लिवियाको सक्रमणकालीन परिषद्लाई पश्चिमा मुलुकले जसरी मान्यता दिइसकेको छैन ।

 

यसैबीच, गत आइतवार यता ट्रिपोली प्रवेश गरेका विद्रोहीले ट्रिपोलीको अधिकांश भाग आफ्नो नियन्त्रणमा आएको र संघर्ष कर्णेल गद्धाफीको गृहनगर तर्फ केन्द्रीत रहेको बताएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले भने ट्रिपोलीको अन्तर्राष्ट्रिय विमानस्थल आसपास गद्धाफीका समर्थकहरुसंग विद्रोहीको संघर्ष जारी रहेको जनाएका छन् । ट्रिपोलीमा विद्रोहीले शहर कब्जा गरेपछि पहिलो पटक शान्तसँग शुक्रवारे प्रार्थना सम्पन्न भएको छ । शहरमा विद्युत , खानेपानी सेवा अवरुद्ध भए पनि केही पसल भने खुल्न थालेका छन् ।

 

यसैबीच ट्रिपोलीको अबु सलीम क्षेत्रको एक अस्पतालमा करिब २ सय भन्दा बढी क्षतविक्षत शव फेला परेका छन् । सो क्षेत्रमा केही दिन अघि विद्रोही र गद्धाफीका समर्थकबीच भीषण संघर्ष भएको थियो । आफ्नो निवासबाट खेदिएका गद्धाफी कहां छन् भन्ने बारे भने केही खुल्न सकेको छैन ।