३५ औं प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईको बारेमा


 

एकीकृत नेकपा माओवादी उपाध्यक्ष एवम नेपालको ३५ औं प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईको जन्म गोरखा, बेलबासको खोप्लाङ गाविसमा २०११ असारमा निम्नमध्यम वर्गीय किसान परिवारमा भएको हो । बाबुराम भट्टराई बाबु भोजप्रसाद र आमा धर्मकुमारी भट्टराईका दोस्रो सन्तान हुन । भट्टराईले २०२० मा अमर ज्योति हाइस्कुलमा पढेका थिए । २०२६ सालको एसएलसी परिक्षामा प्रथम भएका भट्टराई अमृत साइन्स कलेजबाट प्रमाणपत्र तह पूरा गरे । उनले भारतको जवाहरलाल नेहरु विश्वविद्यालयबाट पीएचडी गरेका हुन् ।


२०१७ सालमा महेन्द्रले शाही सैनिक शासन थोपरेपछि कांग्रेस नेता मामा कृष्णप्रसाद न्यौपानेको प्रभावबाट उनमा राजनीतिक चेतना पल्हाएको थियो । पहिले नेपाली कांग्रेसबाट प्रभावित भएका भट्टराई भारतमा उच्च शिक्षाको अध्ययनकै क्रममा कम्युनिस्ट प्रभावमा परे अनि अखिल भारतीय नेपाली विद्यार्थी संघको संस्थापक अध्यक्ष हुँदै नेकपा चौमका सदस्य बने । चौम फुटेपछि २०४२ सालमा नेपाल फर्कि उनी नेकपा मसालको काठमाडौं जिल्ला सेक्रेटरी र वागमती ब्यूरो सदस्य बने । २०४६ को आन्दोलनमा संयुक्त राष्ट्रिय जनआन्दोलनका प्रवक्ता भएका उनी नेकपा एकताकेन्द्र हुँदै माओवादीका वरिष्ठ नेता भए । संसदीय राजनीति गरेको संयुक्त जनमोर्चाका अध्यक्षरहेका भट्टराई �झिल्को� प्राज्ञिक पत्रिकाका प्रधान सम्पादक पनि भए । जनयुद्धकालमा उनी छायाँ सरकारको रुपमा रहेको संयुक्त क्रान्तिकारी जनपरिषदका संयोजक थिए । जनयुद्धको नेतृत्वकारी भूमिका खेलेका भट्टराई माओवादीको चुनबाङ कार्यदिशा बनाउने प्रमुख नेतामध्ये नेताका रुपमा चर्चित छन । सरकारसँगको शान्तिवार्ताका लागि माओवादी वार्ताटोलीको नेतृत्व गरेका भट्टराई बाह्रबुँदे सहमति निर्माणदेखि जनआन्दोलनका एक योजनाकार मानिन्छन् ।

 



संविधानसभाको चुनावमा गोर्खा क्षेत्र नम्बर २ बाट जितेका भट्टराईले विजयी सभासदमध्ये सबैभन्दा बेसी मत ल्याएका थिए । अध्यक्ष प्रचण्डको नेतृत्वमा बनेको माओवादी सरकारमा अर्थमन्त्री भएका भट्टराई नौ महिने कार्यकालका सफल मन्त्रीका रुपमा चर्चित छन् । उनी लक्ष्यभन्दा बढि राजस्व उठाउन सफल भएका थिए ।


पढाईमा सधैं पहिलो भएका भट्टराईले राजनीतिक पदमा भने कममात्रै प्रथम हुने मौका पाएका छन् । माओवादीभित्र अन्तरसघर्षपछि शान्ति र संविधानको पक्षमा फरक मत राखेका भट्टराई आन्तरिक समीकरणपछि प्रधानमन्त्रीका उम्मेदवार भएका थिए । माओवादीबाट सहमतिको राष्ट्रिय सरकारका लागि सर्वसम्मतिबाट उम्मेदवार बनाइएका भट्टराईलाई बहुमतीय सरकारको प्रधानमन्त्रीका लागि पनि उभ्याइएको थियो। लोकतान्त्रिक गणतन्त्र नेपालको चौथो प्रधानमन्त्रीको प्रतिस्पर्धामा उत्रिएका भट्टराई अन्य परिक्षामा झै प्रथम भएका छन।

 

Senior leader of Communist Party of Nepal Bhattarai waits to file nomination paper for Prime Minister's post in Kathmandu


गत वर्ष माओवादीको तर्फबाट अध्यक्ष प्रचण्डको उम्मेदवारीविरुद्ध जेहाद छेड्ने क्रममा कांग्रेस-एमाले लगायत मिडियाले भट्टराईलाई उम्मेदवार बनाउन निकै कसरत गरेका थिए ।


प्रधानमन्त्री प्रतियोगितामा पनि सफल भएका भट्टराईले राजनीतिक प्रतिस्पर्धामा समेत प्रथम भई रेकर्ड कायम गरेका छन। भट्टराई प्रधानमन्त्री पछि उनीमाथि अहिलेको राजनीतिक गतिरोध फुकाउने थुप्रै चुनौति आएका छन नै । ती चुनौति समाधान गर्न सके भट्टराई जनताको नजरमा साँचिकै कहिल्यै नमेटिने पात्र बन्ने छन । माओवादी उपाध्यक्ष डा बाबुराम भट्टराईलाई प्रधानमन्त्री बनाउन अध्यक्ष प्रचण्डले शान्ति प्रक्रिया पूरा गर्ने सबैभन्दा लचिलो प्रस्तावसमेत सार्वजनिक गरेका थिए।


एकीकृत माओवादी उपाध्यक्ष बाबुराम भट्टराई नेपालको ३५ औं प्रधानमन्त्री बनेका छन्। भट्टराई ३४० मत प्राप्त गर्दै प्रधानमन्त्री निर्वाचित भएका हुन्।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका ५ दल सहित माले समाजवादी, नेकपा संयुक्त, जनमुक्ति पार्टी, नेकपा एकीकृत, राष्ट्रिय जनमोर्चा सहितका दलले बाबुराम भट्टराईलाई मतदान गरेका थिए।


बौद्धिक प्रखरता, स्पष्ट भिजन र आर्थिक अवधारणा कारण भट्टराई सर्वसाधारणबीच चर्चामा छन्। ऐतिहासिक महत्वको संक्रमणकालमा प्रधानमन्त्री भएका भट्टराईको परीक्षा संविधान निर्माण र शान्ति प्रक्रिया निष्कर्षले निर्धारण गर्नेछ।



 

मोहनविक्रम राजनीतिक गुरु


सन् १९८१ मा उनी मोहनविक्रम सिंहमार्फत नेपाल कम्युनिष्ट पार्टीको सदस्य बनेका हुन्। औपचारिक शिक्षा सकेपछि भट्टराई सन् १९८६ मा नेपाल फर्किए र पार्टीको पूर्णकालिक सदस्य र राजनीतिक कार्यकर्ता बनेर सक्रिय रहे। सन् १९९० को पञ्चायतविरोधी जनआन्दोलनको बेला उनी ‘संयुक्त राष्ट्रिय जनआन्दोलन’का केन्द्रीय प्रवक्ता थिए।

जनयुद्ध अवधारणाकार


नेकपा माओवादीले सन् १९९६ देखि २००६ सम्म सञ्चालन गरेको जनयुद्धको बाबुराम भट्टराई एकजना मुख्य अवधारणाकार हुन्। जनयुद्ध छाडेर शान्ति र संविधानमार्फत् रुपान्तरण हुनुपर्छ भन्ने माओवादीको पछिल्लो अवधारणा पनि बाबुरामकै हो। एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का उपाध्यक्ष तथा स्थायी समिति सदस्य नेता भट्टराई आफ्नो राजनीतिक तथा बौद्धिक सक्रियताका कारण बहुपरिचित छन्। आलोचकहरु भन्छन्- भाषण गर्न सिपालु भए पनि उनी अन्तरमुखी छन्; पुस्तक पढेको सैद्धान्तिक ज्ञान भए पनि अव्यवहारिक छन्। तर समर्थकहरु ठान्छन्- नेपालको मुहार फेर्ने भिजन बाबुरामसँग छ; उनले केही गर्छन्।