लिवियामा विद्रोहीले राजधानी ट्रिपोली आफ्नो नियन्त्रणमा आएको दाबी गरिरहेको बेला त्यहाँका शासक कर्णेल मोअमर गद्धाफी शक्ति हस्तान्तरणको पक्षमा देखिएका छन् । गद्धाफीका प्रवक्ताले आफुहरु वार्ताका लागि तयार रहेको जनाएका हुन् ।
सञ्चार माध्यमहरुसंगको कुराकानीमा उनले गद्धाफीको छोरा सादीले वार्ता गर्ने प्रस्ताव राखेको जनाएका छन् । विश्लेषकहरुले भने गद्धाफीको यो प्रस्तावले उनी र उनका समर्थक द्विविधाको मनस्थितिमा पुगेको स्पष्ट भएको बताएका छन् ।
विद्रीहीले ट्रिपोलीस्थित गद्धाफीको निवास कब्जा गरिसकेपछि उनलाई पक्रन भने सकेका छैनन् । तर उनी ट्रिपोलीमै लुकेको अनुमान गरिएको छ । विद्रोहीले ट्रिपोली लगायत देशको अधिकांश भाग आफ्नो नियन्त्रणमा लिएका छन् । यता लिवियामा मानवीय संकट गहिरिदै गएको बेला त्यहां इन्धन, खानेपानी ल्याउन शुरु गरिएको विद्रोहीहरुले जनाएका छन् ।
गद्धाफीका समर्थकले खानेपानीमा विष मिसाएको आशंकामा त्यहां पानीको हाहाकार मच्चिएको थियो । यसैबीच, लिवियामा सामुहिक हत्याका विभिन्न घटना प्रकाशमा आएका छन् । राजधानीदेखि दक्षिणमा रहेको सैन्य आधार शिविर नजिकैको एक गोदाममा ५० भन्दा बढी शव जलेको अवस्थामा फेला परेको बताइएको छ ।