०५९ को दरखाने दिनको घटना सम्झदा अर्घाखाँचीबासी त्रसित


सामुदायिक रेडियो अर्घाखांची सहित नौं वटा सरकारी तथा गैरसरकारी संस्थाहरुकको संयुक्त आयोजनामा सन्धिखर्कमा सम्पन्न तिज गित प्रतियोगिता।

 

– शोभाखर पन्थी


भाद्र-१३ अर्घाखाँची । नेपाली महिलाहरुको महान चाड तिजको महत्वपुर्ण दिन दरखाने दिनको कुरा गर्दा अर्घाखाँचीका बासिन्दाहरु भयभित हुने गर्दछन् । आजभन्दा ९ वर्ष पहिले २०५९ सालमा तिजको दरखाने दिन तत्कालिन विद्रोही नेकपा माओवादी र सुरक्षा कर्मीहरुको बीचमा सदरमुकाम सन्धिखर्कमा रातभर भिडन्त भएको थियो । रात भरको भिडन्त पछि सदरमुकाम सन्धिखर्क पुरै विद्रोही माओवादीको नियन्त्रणमा पुगेको थियो । घटनामा ९३ जना सुरक्षाकर्मी र ६४ जना विद्रोही तथा केहि सर्वसाधारणको समेत ज्यान गएको थियो । सुरक्षा कर्मी र विद्रोही गरी सयौ घाईते भएका थिए । 

 

घरमा तिजको दर पकाएर भर्खरै नाचगानमा जुटेका दिदी बहिनीहरुले राती १० बजे पहिलो पटक बन्दुक पडकीएको आवाज सुनेका थिए । पहिलो पटक बन्दुक पड्कीएसँगै कानको जालीनै फुटाउने गरी सेकेन्ड-सेकेन्डमा सयौँको संख्यामा गोला बारुद र बम पड्किन थाले पछि स्थानीय बासिन्दाहरु घरको कुनामा च्यापिएर रात गुजारेका थिए । बन्दुकका गोलि र बारुद बमका छर्राहरु आफ्नो घरमा ठोकिन आउँदा दर्जनौँ स्थानीय बासिन्दाहरु त अचेत भएर घरमै लडेका थिए । डर र त्रासका कारण शरिरमै पिसाब छोड्नेहरुको संख्या पनि सयौ नै थियो । रातभरिको गोलाबारुद होहल्ला रुवावासि पछि विद्रोही माओवादीले विहान ४ बजे सदरमुकामलाई पुरै नियन्त्रणमा लिएको थियो । 


सधैको तिजमा विहानै उठेर न्वाई धुवाई गरी पुजापाठ गर्ने दिदीबहिनीहरु अर्को दिन विहानै एकसय भन्दा बढी मृतक मानिसका सव र सयौ घाईते देख्दा डाको छोडी छोडी रुवावासि गरेका थिए । आज पनि पुरानो घटना सम्झदा शरिर नै थररर काप्ने स्थानीय बासिन्दा शारदा भुसालले बताईन् । जिल्लामा ०५९ पछिका केहि वर्षका तिजहरुमा उत्साहको कुनै गुन्जाएस नदेखिएको स्थानीय बासिन्दाहरुको भनाई छ । मुलुकमा लोकतन्त्रको बहालि भई शान्ती प्रकि्रयाले गति लिदा पनि अघिल्ला वर्षहरु सम्म तिजमा के हुने हो भन्दै स्थानीय बासिन्दाहरु पुरानो घटनालाई स्मरण गर्दै भयभित हुने गरेको बताउँछन् । 


यस पटकको तिजमा भने शान्ती प्रकि्रया निकै अगाडि बढेको र तत्कालिन विद्रोही पक्ष माअेवादी कै नेतृत्वमा सरकार बनेकोले आफुहरु ढुक्क भएर तिज मनाई रहेको सर्वसाधारणको भनाई छ । जिल्लामा अघिल्ला वर्षहरुमा केवल एक दिन मात्र तिज मनाउने गरिएकोमा यस पटक एक हप्ताभन्दा बढि तिज मनाईएको छ । विभिन्न संघसंस्था र क्लबहरुले तिजको अवसर पारी सदरमुकाम सन्धिखर्क लगायत गाउँ-गाउँमा तिज गित प्रतियोगीता राखेका कारण यस वर्ष तिजको चहलपहल बढेको जनाईएको छ ।


अघिल्लो वर्षको तुलानामा यस वर्ष व्यापार व्यवसाय पनि बढि भएको जिल्लाका व्यापारीहरुको भनाई छ । अघिल्लो वर्षको तुलाना यस वर्ष अन्य सामानको उल्लेखिय व्यापार भएपनि सुनचाँदीको कारोवारमा भने कमी आएको जनाईएको छ । सुन चुदीको मुल्यमा  उलेख्य वद्धि भएका कारण आफ्नो व्यवसायमा केहि कमि आएको सन्धिखर्कका सुनचाँदी व्यवसायी टोपेन्द्र बरालीले बताए ।


यसैबिच सामुदायिक रेडियो अर्घाखाँचीले विभिन्न संघ-संस्थाको सहयोगमा आयोजना गरेको तिज गित प्रतियोगितामा जिल्ला स्थित कार्यालयका प्रमुख र राजनीतिक दलका नेताहरु एकसाथमा छमछमी नाचेका छन् । दर्शकहरुको आग्रह पछि प्रमुख जिल्ला अधिकारी केशव राज घिमिरे माओवादी जिल्ला ईन्चार्ज चन्द्र बहादुर खड्का उज्ज्वल, जिल्ला सेक्रेटरी ठाकुर कुमार बिक नेपाली कांग्रेसका जिल्ला सभापति कमल प्रसाद भुसाल युवा नेता विष्णु मुस्कान एमाले अध्यक्ष रामजी प्रसाद घिमिरे प्रचार विभाग प्रमुख प्रेम नारायण गैरे एकिकृत क्रान्तिकारीका केन्द्रीय सदस्य यमुना भुसाल महिला विकास अधिकृत जमुना भण्डारी लगायतका नेता तथा कार्यालय प्रमुखहरु कम्मर मर्काई मर्काई छमछमी नाचेको दृश्य साच्चै हेर्न लायक थियो । 


तत्कालिन विद्रोही माओवादी र सुरक्षा निकायका प्रमुख एउटै माचमा नाच्दा स्थानीय बासिन्दाहरुमा २०५९ सालको पुरानो घाउमा मलाम पट्टी लगाएको अनुभुति भएको थियो । तिज त प्रत्येक वर्ष आउछ जान्छ तर २०५९ को जस्तो तिज नेपालमा नआओस् स्थानीय बासिन्दाको भनाई छ ।













Copyright 2011 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.