जापानको संसदले योसीहिको नोडालाई नयां प्रधानमन्त्रीमा चयन गरेको छ । हिजो मात्र सत्तारुढ डेमोक्रेटिक पार्टीले नोडालाई आफ्नो नयाँ नेता चयन गरेपछि उनी प्रधानमन्त्री हुने पक्का भएको थियो । राजनीतिक अस्थिरतामा रुमल्लिरहेको जापानमा पांच वर्ष यता प्रधानमन्त्री हुने नोडा छैठौं व्यक्ति हुन् ।
वर्तमान प्रधानमन्त्री नाओतो कानको मन्त्रीमण्डलमा अर्थमन्त्री रहेका ५४ वर्षिय नोडाले वाणिज्य मन्त्रीलाई पराजित गर्दै सत्तारुढ पार्टीको नेतामा चुनिएका हुन् । निवर्तमान प्रधानमन्त्री कानले गत शुक्रवार राजीनामा दिएपछि जापानमा नयां प्रधानमन्त्रीको खोजी शुरु भएको थियो ।
जापानमा गत मार्चमा गएको शक्तिशाली भूकम्प र सुनामीपछिको अवस्थालाई सही ढंगबाट अगाडि बढाउन नसकेको भन्दै कानको व्यापक आलोचना भएको थियो । नयां प्रधानमन्त्री नोडाका सामु पनि देशको समस्यासंगै पार्टी भित्रको मत भिन्नता कम गरि एक ढिक्का बनाउनु पर्ने चुनौति छ ।