भारतको मद्रास उच्च न्यायालयद्धारा पूर्व प्रधानमन्त्री राजीव गान्धीको हत्यामा दोषीलाई मृत्युदण्ड दिने निर्णय विरुद्ध रोक

 भारतको मद्रास उच्च न्यायालयले पूर्व प्रधानमन्त्री राजीव गान्धीको हत्यामा दोषी प्रमाणित तीन जनालाई मृत्यु दण्डको सजाय विरुद्ध अन्तरिम रोक लगाएको छ । हत्यामा दोषी प्रमाणित मुरुगन, संथन र पेरारीवालनलाई सेप्टेम्बर नौ मा मृत्युदण्ड दिने निर्णय भएको थियो । तमिलनाडु विधानसभाले पनि सर्वसम्मतिबाट प्रस्ताव पारित गरि राष्ट्रपति समक्ष उनीहरुलाई क्षमा दानको अपिल गर्ने निर्णय गरेको छ ।

 

तर यसअघि भारतीय राष्ट्रपति प्रतिभा पाटिलले मृत्युदण्डको फैसलाविरुद्धको दया याचिका खारेज गरेपछि उनीहरुको मृत्युदण्डको समय निश्चित भएको थियो । सन् १९९१ को मे २१ मा तमिलनाडुको श्रीपेरबदुरमा आयोजित चुनावी र्‍यालीका क्रममा गराइएको आत्मघाती आक्रमणमा राजीव गान्धी मारिएका थिए । राजीव गान्धीको हत्या श्रीलंकाको विद्रोही समुह लिवरेशन टाइगर्स अफ तमिल इलम एलटीटीईको आत्मघाती आक्रमणमा भएको थियो ।

 

सन् २००६ मा एलटीटीईले राजीव गान्धीका हत्या प्रति दुख व्यक्त गरेको थियो । भारतको सर्वोच्च अदालतले आरोपी तीन जनाविरुद्ध तल्ला अदालतलहरुले दिएको मृत्युदण्डको फैसलालाई सही ठहराएको थियो ।