गोखुङ्गा बासीमा अझै तिजको खुसी आएन

– शोभाखर पन्थी


भाद्र-१४ अर्घाखाँची । देशभरी खुसीयालीका साथ तीज पर्व मनाई रहँदा अर्घाखाँचीको गोखुङ्गाका बासीन्दा भने तीज भन्ने विक्तिकै चिन्ता गर्न थाल्छन् ।


२०५९ सालको तिजको दिन गाउँमै आएर सुरक्षा कर्मीले गाउँका ४ जनाको हत्या गरेपछी स्थानीय बासिन्दा अझैपनि तिज भन्ने बित्तिकै पुरानो घाउ बल्झिने बताउँछन् । तत्कालिन विद्रोही माओवादीले अघिल्लो दिन राति सदरमुकाम सन्धिखर्क कब्जा गरेपछी माओवादी खोज्ने नाममा प्यूठानको सोलहाल्नामा हेलीकप्टरबाट अवतरण गरी शर्च गर्दै हिँडेको तत्कालिन शाही नेपाली सेनाले गोखुङ्गा-९ लाम्पाटाका ३ जना युवालाई गोलि हानी हत्या गरेको थियो ।


लाम्पाटाको पसलमा बसेका स्थानीय गोपाल खनाल राजेन्द्र खनाल र देविराम पौडेललाई माओवादी खोइ देखा भन्दै सेनाले घर बाहिर निकालेर केहि पनि बोल्न नदिई गोलि हानेको थियो । गाउँमा समाजसेविको रुपमा स्थापीत उनीहरुलाई सुरक्षा कर्मिले गोलि हानेर हत्या मात्रै गरेन बेलुका रेडियो र टेलभिजनमा माओवादी आतंककारीको विल्ला समेत भिरायो । त्यसै दिन गोखुङ्गा-३ पात्लेकी बाल कुमारी नेपाली पनि सुरक्षा कर्मीको शिकार बनिन् ।


१७ वर्षकी बाल कुमारीलाई हंसपुर-३ राँगामारेमा गोखुङ्गा लाम्पाटामा ३ जना युवाको हत्या गरेर आएको सेनाले बाटो हिड्दै गर्दा माओवादी होस् भन्दै गोलि हानेर हत्या गरेको थियो ।


घरबाट मेला हेर्न गएकी बाल कुमारी साझ सम्म घर नफर्के पछि खोजी गर्न गएका उनका बुवा टुक बहादुरले आफ्नी छोरीको मृत शव मात्र देखेका थिए ।


गोखुङ्गाका युवाहरुको हत्या भएको ९ वर्ष बिती सक्दा पनि गाउँमा भने अझै पनि त्रसादी कायम नै छ । घरमा बसी रहेका छोराछोरीको अनाहकमा हत्या हुँदा पनि आज सम्म न्याय पाउन नसकेको मृतकका परिवारको गुनासो छ ।


२० वर्षको कलिलो उमेरमै खाउँ खाउँ र लाउँ लाउँको छोरा राजेन्द्रलाई गुमाएकी उनकी आमा चिना खनालले आफ्नो जिवनमा कहिल्यै पनि तिजको खुसी नआउने बताईन् । तिजको मेला हेर्न घरबाट निस्केको छोरालाई रगताम्मै मृत अवस्थामा देखेको ९ वर्ष पुरानो घट्दा संझदा आज पनि आफ्नो मुटुको धड्कन रोकीने उनको भनाइ छ ।


एक महिना पहिले देखिनै तिजको माहोल सुरु हुने गोखुङ्गामा ९ वर्ष यताका तिजहरु भने सुनसान हुने गरेका छन् । तिजको मेलामा जानासाथ पुराना घट्ना याद आउने भएकाले घर मै बसेर दिन कटाउने गरेको मृतकका छिमेकि र आफन्तहरुको भनाई छ । निर्दोष व्याक्तिको हत्या भएको ९ वर्ष बितीसक्दा पनि राज्यले उचित क्षतीपुर्ति उपलब्ध नगराएको प्रति स्थानीय बासिन्दाको आक्रोस छ ।



 








 


Copyright 2011 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.