भारतलाई भ्रष्टाचारमुक्त बनाउन आफूले गरेजस्तै थप आन्दोलन गरिहनुपर्नेमा अन्ना हजारेको जोड

भारतीय भ्रष्टाचारविरोधी अभियानका नेता अन्ना हजारेले भारतलाई भ्रष्टाचारमुक्त बनाउन आफूले गरेजस्तै थप आन्दोलन गरिहनुपर्ने बताउनुभएको छ । १२ दिनसम्म आमरण अनसन बसेर सरकारलाई झुकाउन सफल हजारेले आफ्नो गाउँ महाराष्ट्रको रालेगनमा भएको कार्यक्रममा यो आन्दोलनको आगो निभ्न नहुनेमा जोड दिनुभयो ।

 

 उहाँले भ्रष्टाचार निर्मूल पार्न निरन्तर यस्तो आन्दोलन जरुरी रहेको धारणा राख्नुभयो ।

 
हजारेले आमरण अनसन शुरु हुनुअघि नै आफूलाई हिरासतमा लिएकोमा सत्ताधारी कांग्रेस गठबन्धन सरकार र गृहमन्त्री पी चिदम्बरमको आलोचना गर्नुभयो । उहाँले दिल्ली प्रहरीले आफूलाई बसिरहेको घरबाटै शान्ति भंग हुने निहँमा गिरफ्तार गरेको र दिल्लीको कुनै पनि स्थानमा आमरण अनशन बस्नबाट रोक लगाएको भन्दै रोष प्रकट गर्नुभयो ।

 

जेपी पार्कमा अनसनको अनुमति पाए पनि आफूमाथि विभिन्न शर्त लादिनुमा गृहमन्त्री चिदम्बरम्को हात रहेको हजारेको आरोप थियो । हजारेले जन लोकपाल विधेयक ल्याउन गरिएको आन्दोलनमा साथ दिएकोमा ग्रामीण र देशभरका जनतालाई धन्यबाद पनि दिनुभएको छ ।