लिवियाको गुप्तचर ऐजेन्सीसंग अमेरिका र बेलायतका गुप्तचर एजेन्सीहरुको सांठगांठ

लिवियाको गुप्तचर ऐजेन्सीसंग अमेरिका र बेलायतका गुप्तचर एजेन्सीहरुको सांठगांठ रहेको तथ्य प्रकाशमा आएको छ । मानवअधिकारवादी संस्था ह्युमन राईटस् वाचका अनुसार अमेरिकी गुप्तचर एजेन्सी सीआईएले संदिग्ध चरमपन्थीलाई सोधपुछ गर्न लिविया पठाएको थियो । तर सीआईएले भने आरोपका विषयमा टिप्पणी गर्न अस्विकार गरेको छ ।


ह्युमन राइटस् वाचका अनुसार गद्धाफीका पूर्व गुप्तचर प्रमुख मुसा कुसाको कार्यालयमा प्राप्त दस्तावेजबाट चरमपन्थी विरुद्धको संघर्षका क्रममा अमेरिका र वेलायतका गुप्तचर विभागले लिवियाका अधिकारीसंग राम्रो सम्बन्ध राखेका थिए ।


लिवियामा विद्रोहको शुरुवातका दिन मै मुसा भागेर बेलायत हुंदै कतार पुगेका थिए । दस्तावेजहरु लिबियाको गुप्तचर प्रणाली बेलायतको एमआई ६ र अमेरिकाको सीआईएको विश्वासिलो सहयोगी बनेको समयको बेलाको भएको बताइएको छ । तर, प्राप्त हजारौ दस्तावेजको स्वतन्त्र जांच भने भएको छैन । संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनका विशेष सल्लाहाकार इयान मार्टिन शान्ति सुव्यवस्था कायमका लागि राष्ट्रसंघको सहयोगका सन्देश लिएर ट्रिपोली पुगेको बेला यी तथ्य सार्वजनिक भएको हो ।