उच्च माध्यमिक शिक्षा परिषद्ले कर्मचारी पदपूर्तिको कारण देखाउँदै साढे २ लाखभन्दा बढी विद्यार्थीको नतिजा प्रकाशनमा ढिलाइ

– गणेश राई

 

काठमाडौं  – कर्मचारी पदपूर्तिको कारण देखाउँदै उच्च माध्यमिक शिक्षा परिषद्ले साढे २ लाखभन्दा बढी विद्यार्थीको नतिजा प्रकाशनमा ढिलाइ गरेको छ । उसको शैक्षिक क्यालेण्डर अनुसार कक्षा १२ को नतिजा साउनमा सार्वजनिक भइसक्नुपर्छ ।

परिषद्ले गत वैशाखमा सञ्चालन गरेको कक्षा १२ को परीक्षामा विज्ञान, व्यवस्थापन, मानविकी र शिक्षा संकायका गरी २ लाख ६४ हजार ५ सय २ परीक्षार्थी सहभागी छन् । त्यसमध्ये विज्ञानतर्फको २५ हजार ६ सय ९१ परीक्षाकर्थीको नतिजा गत साउनमा प्रकाशित गरेको छ ।

‘परिषद्का कर्मचारीहरुको आन्तरिक पदपूर्तिको परीक्षाले गर्दा नतिजा प्रकाशनमा ढिलाइ भएको हो’, कर्मचारी आन्दोलनका कारणले समेत ढिलाइ भएको उल्लेख गर्दै परीक्षा नियन्त्रक दुर्गाप्रसाद अर्यालले कान्तिपुरसित भने, ‘भदौ अन्तिमसम्ममा बाँकी सबै नतिजा ल्याउने प्रयासमा छौं ।’ परिषदका कर्मचारीको यसै साता परीक्षा सम्पन्न हुनेसमेत उनले जनाए ।