भारतमा समाजवादी पार्टीका पूर्व महासचिव एवं सांसद अमर सिंहलाई चर्चित नोट काण्डको आरोपमा जेल चलान गरिएको छ ।
अमर सिंहमाथि सन् २००८ मा मनमोहन सिंह सरकारको पक्षमा विश्वासको मत दिलाउने प्रयासका क्रममा विपक्षी तिन सांसदलाई करोडौं घुस दिएको आरोप छ । प्रधानमन्त्री सिंहको सरकारविरुद्ध सन् २००८ को २२ जुलाईमा मतदानको केही घण्टा अघि बीजेपीका सांसदले लोक सभामा नोटको विटो नै पेश गरेका थिए ।
सरकारविरुद्ध विश्वास मत लिने प्रक्रियामा भाग नलिनका लागि अमर सिंहका सहयोगीले उक्त रकम उपलब्ध गराएको आरोप लगाइएको थियो । दिल्लीको एक अदालतले उनलाई न्यायिक हिरासतमा पठाएको छ ।
उनलाई भ्रष्टाचार निरोधक कानुन अनुसार दिल्ली प्रहरीले मुद्धा दर्ता गरेको छ । अमर सिंहलाई १९ सेप्टेम्बर सम्म जेलमा राख्ने आदेश दिइएको छ । अमर सिंहको स्वास्थ्य खराब भएको भन्दै उनका वकिलले उनलाई अदालतमा पेश हुन नपर्ने भन्दै जमानत याचिका माग गरेका थिए । तर अदालतले माग अस्वीकार गर्दै उनलाई पक्राउ गर्न आदेश दिएको थियो । अमर सिंहले भने आफू माथिको आरोप अस्वीकार गर्दै आएका छन् । उनीसंगै भारतीय जनता पार्टीका पूर्व सांसद फग्गन सिंह कुलस्ते र महावीर सिंह भगोरालाई नोटको बदला भोट काण्डमा पक्राउ गरि न्यायिक हिरासतमा पठाइएको छ ।