लिवियामा कर्णेल गद्धाफीको शासनकालका सुरक्षा प्रमुख र धेरै पूर्व लिवियाली अधिकारीहरु छिमेकी मुलुक नाइजरको राजधानी नियामी पलायन भएका छन् । उनीहरु मरुभूमीमा रहेको अगाडेज शहरको बाटो हुंदै नाइजर प्रवेश गरेको बताइएको छ । यसक्रममा हतियारधारी गद्धाफीका समर्थकहरुले सुन र नगद पनि सीमा कटाएको अधिकारीहरुले जनाएका छन् ।
नाइजरका अधिकारीहरुका अनुसार गद्धाफी भने नाइजर प्रवेश गरेका छैनन् । विद्रोहीका उच्च सुरक्षा कमाण्डरले गद्धाफी लिवियामै रहेको तर उनी चाड वा नाइजर जाने प्रयासमा रहेको बताएका छन् । नाइजरका आन्तरिक मन्त्री अब्दु लाबोले मावनीय आधारमा लिवियाका पूर्व अधिकारीहरुलाई प्रवेश दिइएको बताएका छन् । अमेरिकाले भने उनीहरुलाई पक्राउ गर्न नाइजरलाई आग्रह गरेको छ । यता विद्रोहीके राष्ट्रिय संक्रमणकालीन परिषदका लण्डनमा रहेका प्रवक्ताले गद्धाफी भगाउन नाइजरले सहयोग गरेको प्रमाणित भए दण्डित गरिने चेतावनी दिएका छन् ।
गद्धाफीले लिवियामा आफ्नो नियन्त्रण गुमाइसकेपछि पनि आत्मसर्पण नगर्ने वरु मर्न तयार रहेको बताउदै आएका छन् । गद्धाफीकी श्रीमती , दुई छोरा र छोरी भने यसअघि नै अल्जेरिया पलायन भैसकेका छन् ।