कर्णेल गद्दाफी लिवियाबाट छिमेकी मुलुक नाइजर पलायन नहुने

लिवियाबाट कर्णेल गद्दाफी छिमेकी मुलुक नाइजर पलायन हुने हल्ला चलिरहेका बेला गद्दाफीले भने आफू नाइजर नभाग्ने जनाएका छन् । सिरियाको टेलिभिजनमा फोन मार्फत बोल्दै गद्दाफीले यो हल्ला झुठो र मानसिक युद्ध मात्र भएको बताएका छन् । गद्धाफीले आफ्ना सेनाले नेटो र विद्रोहीलाई हराएरै छाड्ने दावी गरेका छन् । गद्दाफीले आफ्ना दुतहरु नाइजर जानु सामान्य भएको पनि बताएका छन् ।


यसअघि नाइजरले गद्धाफी नाइजर आउन चाहे उनलाई शरण दिनेबारे विचार भैरहेको जनाएको थियो । नाइजरका विदेशमन्त्री मोहमद बाजुमले गद्धाफीलाई शरण दिने वा अन्तर्राष्ट्रिय फौजदारी अदालत आइसीसीमा सुम्पने भन्नेमा निर्णय गर्न लागेको बताएका छन् ।


आइसीसीले मानवता विरोधी अपराधको अभियोगमा गद्धाफी, उनका छोरा सेफअल इस्लाम र पूर्व लिवियाली गुप्तचर प्रमुख अब्दुल्लाह सानुसी विरुद्ध पक्राउ पूर्जी जारी गरेको छ । गद्धाफीका समर्थकहरु नाइजर पलायन हुन थालेका छन् । तर लिवियामा विद्रोहीको राष्ट्रिय संक्रमणकालीन परिषद्ले भने गद्धाफीलाई नाइजर प्रवेश गर्न नदिन आग्रह गरेको छ ।

 

नाइजरका विदेशमन्त्री बाजुमले नाइजर प्रवेश गरेका गद्धाफीका समर्थकहरुलाई मानवताका आधारमा मात्र शरण दिइएको बताएका छन् । बाजुमले लिवियासँग नाइजरको अत्यन्त लामो र खुला सीमा बन्द गर्न सम्भव नभएको पनि स्पष्ट पारेका छन् ।