लामो समय देखी स्वनिर्वासनमा बेलायतमा बस्दै आएका पाकिस्तानका पूर्व सैनिक शासक परवेज मुशर्रफले आगामी छ महिना भित्र स्वदेश फर्कने बताउनु भएको छ । बीबीसीसंग कुरा गर्दै मुशर्रफले आफुलाई पक्रेर जेलमै राखिने भए पनि स्वेदश फर्किएरै छाड्ने दृढता व्यक्त गर्नुभयो ।
नौ वर्ष सम्म पाकिस्तानको सत्ताको नेतृत्व गरेका मुशर्रफलाई पाकिस्तानी अदालतले सन् २००७ को डिसेम्बरमा बेनजीर भुट्टो हत्याका सम्बन्धमा अदालतमा उपस्थित हुन बारम्बार आदेश दिएको छ । मुशर्रफ माथि पाकिस्तानी पूर्व प्रधानमन्त्री भुट्टोको सुरक्षामा लापरवाही गरेको आरोप छ ।
तर मुशर्रफले आफु माथिको मुद्धा आधारहीन र राजनीति प्रेरित भएको बताउदै यस विरुद्ध आफु लड्ने बताउनुभयो ।
गत महिनामात्र रावलपिण्डीको आतंंकनिरोधक अदालतले मुर्शरफको सम्पत्ति र बैंक खाता कब्जा गर्ने आदेश दिएको थियो । एक फरक प्रसंगमा मुशर्रफले अल कायदा र तालिवान विरुद्धको लडाईमा पाकिस्तानले जस्तो कुनै पनि मुलुकले बलिदान नदिएको दाबी गर्नुभयो । आफ्नो शासन कालमा पास्तिानी सेनाले अल कायदाका नेता विरुद्धको कारवाहीमा ठूलो सफलता पाएको उहांको जिकिर थियो । सन् १९९९ मा पाकिस्तानी सेनाका प्रमुख रहँदा प्रधानमन्त्री नवाज सरिफविरुद्ध रक्तपातविहीन सैनिक विद्रोह गरी मुशर्रफ सत्तामा पुग्नुभएको थियो ।
राजनीतिक दलले महाअभियोग लगाउने तयारी गरेपछि सन् २००८ मा उहांले पदबाट राजीनामा दिनुभयो र सुरक्षाको कारण देखाउंदै लण्डनमा स्वनिर्वासनमा जानुभयो ।