मध्यपूर्वमा इजरायल र इजिप्टको सम्बन्ध चिसिरहेका बेला प्रदर्शनकारीहरुद्धारा कायरोस्थित इजरायली दुतावासमा धावा
भाद्र २४ गते, २०६८ मा प्रकाशित
मध्यपूर्वमा इजरायल र इजिप्टको सम्बन्ध चिसिरहेका बेला प्रदर्शनकारीहरुले कायरोस्थित इजरायली दुतावासमा धावा बोलेका छन् । एक महिना अघि इजरायली सेनाले इजिप्टको सीमामा पांच इजिप्सियन सेनालाई गोली हानी मारेपछि दुई मुलुकबीचको सम्बन्ध तनाबग्रस्त बन्दै आएको छ ।
दुतावास बन्द गर्नु पर्ने माग गरेका प्रदर्शनकारीहरुले दुतावासको भवनलाई चारैतिरबाट घेरा हाली भित्र पसेर त्यहांका काजगात बाहिर फाल्दै तोडफोड गरेका छन् । उनीहरुले भवनको बाहिरी पर्खाल ढालेका छन् ।
प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन अश्रु ग्यास प्रहार गरेको र गोलीको आवाज पनि सुनिएको समाचारमा जनाइएको छ । २ सय भन्दा बढी घाइते भएको बताइएको छ । स्थिति गंभीर बनेको भन्दै इजिप्टमा मन्त्रीपरिषद्को आपतकालीन बैठक बोलाइएको छ ।
यता इजरायलद्धारा गरिएको सहयोगको आग्रह पछि अमेरिकी राष्ट्रपति बाराक ओबामाले इजरायली क्षतिग्रस्त दुतावास बचाउन इजिप्ट सरकारलाई अपिल गर्नुभएको छ । कायरोस्थित इजरायली राजदुत आफना परिवार सहित स्वदेश फर्किएका छन् ।
शुक्रवारे प्रार्थना सभा पछि कायरोको ताहरिर चोकमा राजनीतिक सुधारको माग गदै जम्मा भएकाहरु मध्ये केही त्यहींबाट इजरायली दुतावास गएर आक्रमण गर्न थालेपछि पछिल्लो घटना भएको थियो ।