आज सेप्टेम्बर ११, अमेरिकामा आतंकवादी आक्रमणको १० औं वर्षगाठ – LIVE
भाद्र २५ गते, २०६८ मा प्रकाशित
आज सेप्टेम्बर ११, अमेरिकामा आतंकवादी आक्रमण भएको दश बर्ष पुरा भएको दिन । आतंकवादी संगठन अल कायदाका सदस्यहरुले विमानहरु अपहरण गरी न्युयोर्कको गगनचूम्वी ब्यापारिक भवन ट्वीन टावरमा ठोक्याउदा ३ हजार भन्दा बढी मानिसको मृत्यु भएको थियो।
सन् २००१ सेप्टेम्बर ११ मा आतंकबादीहरुले चार वटा विमान अपहरण गरी ट्वीन टावर लगागत अमेरिकी रक्षा मन्त्रालय पेन्टागन र संबेदनशील स्थलहरुमा विस्फोट गराएका थिए । आतंकवादीले अकल्पनीय ढंगबाट आक्रमण गरी अपूरणीय क्षति पु�याएपछि अमेरिकी इतिहासमा कालो दिनको रुपमा अंकित छ ।
अमेरिकी राष्ट्रपति बाराक ओबामाले सन् २००१ को सेप्टेम्बर ११ हमलाको १० वर्ष पछि अमेरिका अझ शक्तिशाली भएको र अलकायदा पराजयको बाटोमा रहेको बताउनुभएको छ । सेप्टेम्बर ११ को १० औं वर्ष गांठको अवसरमा बोल्दै ओबामाले आक्रमण पछि सम्पूर्ण अमेरिकीले देखाएको साहसको प्रशंसा गर्दै यसले अमेरिकालाई अझ शक्तिशाली बनाएको बताउनुभयो । आतंककारीले अमेरिकालाई आक्रमणको निशाना बनाइरहेपनि त्यसलाई कमजोर बनाइएको ओबामाको भनाई थियो ।
यसैबीच अमेरिकी विदेश मन्त्रालयले सेप्टेम्बर ११ को दशौ वर्ष गाँठको पूर्वसन्ध्यामा अल कायदाले आक्रमण गर्ने सम्भावना रहेको भन्दै अमेरिकामा उच्च सुरक्षा सतर्कता अपनाइएको छ । न्यूयोर्क प्रहरीले शहरका सडक , पुल र भूमिगत मार्गहरुमा सुरक्षा व्यवस्था कडा पारेको जनाएको छ ।
अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टनले न्यूयोर्क र वासिंटन डिसीलाई आक्रमणको निशाना बनाइएको र ट्रक वा कारको प्रयोग गरि आक्रमण हुन सक्ने जानकारी रहेको बताउनुभयो ।
अमेरिकी राष्ट्रपति ओबामा न्यूयोर्कको ट्वीन टावर र अमेरिकी रक्षा मन्त्रालय पेन्टागनमा अल कायदाले गरेको आक्रमणको १० औं वर्षगाठको कार्यक्रममा सहमागि हुन न्यूयोर्कको ग्राउण्ड जिरो र वासिंटनको भ्रमण गर्ने कार्यक्रम रहेको छ ।