लिवियामा गद्धाफीको शासनसत्ता पतन भएपछि गद्धाफीका नातेदारहरुको भागाभाग भईरहेको बेला छोरा शादी गद्धाफी भागेर नाईजर
भाद्र २६ गते, २०६८ मा प्रकाशित
लिवियाली नेता मुआम्मार गद्धाफीको शासनसत्ता पतन भएपछि गद्धाफीका नातेदारहरुको भागाभाग भईरहेको बेला छोरा शादी गद्धाफी भागेर नाईजर पुगेका छन् । नाईजरका न्यायमन्त्रीले शादी गद्धाफी आफ्नो देशको राजधानी नियमी नजिक आईपुगेको पुष्टि गरेका छन् । गद्धाफीका छोरा शादीले आफ्ना बुबा लिवियामै रहेको र लडाईमा हारे आफ्नै भुमिमा मर्ने ईच्छा ब्यक्त गरेको बताएका छन् ।
शादीलाई उनका आठजना सहयोगीसहित मानवीय आधारमा शरण दिईएको नाईजरका अधिकारीहरुले जनाएका छन् । नाईजरले विद्रोहीको राष्ट्रिय अन्तरिम परिषद एनटीसीलाई मान्यता दिएको छ । उता, लिवियामा विद्रोहीहरुले भने गद्धाफी समर्थक फौजको नियन्त्रणमा रहेको बान बालिद र सिर्त शहरमाथिको आक्रमण तीब्र पारेका छन् ।
विद्रोहीहरुलाई नेटो सम्बद्ध बहुराष्ट्रिय फौजले हवाई आक्रमणको सहायताले सहयोग गरिरहेको बताईएको छ । देशका अधिकांश भागमा कब्जा जमाएपछि विद्रोहीले आफ्नो मुख्यालय पनि त्रिपोलीमै सारेका छन् भने दश दिनभित्र अन्तरिम सरकार बनाउने घोषणा गरिएको छ ।